टिम टेबलटेनिसमा नेपालको अग्रता

नेपालले बिहीबार भारतको सामना गर्नेछ ।

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

Nepal's leadership in team table tennis

काठमाडौँ — नेपाली पुरुष टोली विश्व टेबलटेनिस टिम च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिन अग्रता बनाएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार नेपालले ३ खेल खेलेकामा सबैमा जित पाएको छ । ५ टिम सहभागी राउन्ड रोविन लिगमा नेपालले श्रीलंकालाई ३–०, माल्दिभ्सलाई ३–१ र बंगलादेशलाई ३–२ को सेटमा हरायो । नेपालले बिहीबार भारतको सामना गर्नेछ । नेपाली टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकंबञ्जार र गनञ्जय दाहाल छन् ।

दोस्रो स्थानमा रहेको भारतले श्रीलंका र बंगलादेशलाई समान ३–० को नतिजामा हरायो । भारतले नेपालसँगै माल्दिभ्ससँग खेल्न बाँकी छ ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिलातर्फ पनि तीन खेल खेल्दा नेपालले २ मा जित र १ मा हार पाएको छ । माल्दिभ्स र बंगलादेशलाई ३–० ले हराएको नेपाल श्रीलंकासँग २–३ ले पराजित भयो । नेपाली टोलीमा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेल छन् । पाँचै टिम सहभागी महिलामा पनि नेपालले बिहीबार भारतको सामना गर्नेछ ।

प्रतियोगितामा भुटान र पाकिस्तानबाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडी सहभागी छन् । भारतबाट १०, नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८–८ खेलाडी सहभागी छन् ।

राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने पुरुष/महिला टोली इंग्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टेबलटेनिस टिम च्याम्पियनसिपका लागि छनोट हुनेछ ।  

कान्तिपुर

Link copied successfully