लिग विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
What you should know
काठमाडौँ — थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) हुने भएको छ । १८ वर्षमुनिको यस लिगको पहिलो संस्करणमा राजधानीका आठ स्कुलले भाग लिनेछन् ।
लिगमा जेम्स थन्डरबोल्ट्स (जेम्स स्कुल), सुपर डाँफेज (डीएभी स्कुल), एफसी माउन्ट कान्जिरोवा (कान्जिरोवा स्कुल), एलए (लिटिल एन्जल्स), रेड पान्डाज (रातो बंगला), चेल्सी फाल्कन्स (चेल्सी वर्ल्ड स्कुल), केडब्लूएस लोखुग एफसी (काठमाडौं वर्ल्ड स्कुल) र युलेन्स प्यान्थर्स (युलेन्स स्कुल) को नामले खेल्नेछन् ।
स्कुल सहभागी भए पनि प्रतियोगितालाई नयाँ स्वरुपमा आयोजना गर्न क्लबको नाम र लोगो फरक राखिएको थन्डर बोल्ट्सका स्पोर्ट्स इभेन्ट व्यवस्थापक रायन कसजूले बुधबार पत्रकार सम्मेलनमा बताए । लिग विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीले जनही ५० हजार पाउनेछन् ।
जेम्स स्कुलस्थित थन्डर बोल्ट्स मैदानमा हुने प्रतियोगिता अगस्ट २ देखि हुनेछ । प्रत्येक शनिबार र आइतबार हुने खेलाइने लिगमा २८ खेल हुनेछ । लिग राउन्ड र प्लेअफपछि सेप्टेम्बर २० मा फाइनल हुनेछ । अहिले फुटबलको लिग सुरु गरिएको र विस्तारै अरू खेलको स्कुल लिग गरिने लक्ष्य राखेको जेम्सका भाइस प्रिन्सिपल आरपी बस्यालले सुनाए ।
प्रतियोगिताको म्याच बल पार्टनरमा रुट्स फेसनको एडिडास, हस्पिटालिटी पार्टनरमा हार्डरक क्याफे, एजुकेसन पार्टनरमा थ्री सिक्स्टी डिग्री एजुकेसन, फुड पार्टनरमा डल्ले, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इस्न्योरेन्स तथा मेडिकल पार्टनरमा ह्याम्स हस्पिटल छन् ।
