धरान स्पोर्ट्स अवार्डका लागि सात विधामा खेलाडी र प्रशिक्षकहरुको नाम घोषणा गरिएको छ।
What you should know
सुनसरी — धरान खेलकुद मञ्चले धरान स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत विभिन्न सात विधामा पर्न सफल खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।
मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी उत्कृष्ट धरान वर्ष खेलाडीसहितका विभिन्न सात विधाको लागि मनोनयनमा परेका महिला र पुरुष खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । मञ्चका सल्लाहकार एवंम टेबलटेनिस प्रशिक्षक राजेशमान श्रेष्ठ संयोजक, सल्लाहकार एवं कराते प्रशिक्षक दिपेश शाक्य र मञ्चका सदस्य सचिव एवं शारीरिक सुगठनका प्रशिक्षक बिक्रम लिम्बु सदस्य रहेको ३ सदस्यीय छनौट समितिले मनोनयन गरेका खेलाडी तथा प्रशिक्षकहरुको नाम सार्वजनिक गरेको हो ।
विभिन्न विधाका १४ जना खेलाडीहरुले अवार्डका लागि दिएको निवेदनका आधारमा छनौट समितिले नाम सार्वजनिक गरेको अध्यक्ष किशोर राईले जानकारी दिए ।
यस संस्करणको उत्कृष्ट धरान वर्ष खेलाडी पुरुषका लागि साहिल राई, निगम राई, अवतार श्रेष्ठ, निरज तामाङ र सिद्धान्त सापकोटा मनोनयनमा परेका छन । साहिल र निगम सितेरियो करातेका खेलाडी हुन् भने अवतार शारीरिक सुगठनका खेलाडी हुन् । निरज र सिद्धान्त गल्फ खेलाडी हुन् ।
महिलातर्फ बर्षा राई र सलिना जोगी मनोनयनमा परेका छन् । उनीहरु दुवै जना सितेरियो कराते खेलाडी हुन् ।
१५ वर्ष मुनिका बाल खेलाडीहरुलाई प्रोत्साहित गर्न प्रदान गरिने द राईजिङ स्टार विधामा सुलेखा ठाकुर, गौतम तामाङ र श्रेया सुवेदी मनोनयनमा परेका छन् । तीनै जना टेबलटेनिस खेलाडीहरु हुन् । उत्कृष्ट प्रशिक्षक अवार्डका लागि किरण लामा, गीता थापा र श्याम तामाङ मनोनयनमा परेका छन् । किरण करातेका प्रशिक्षक हुन् भने गीता टेबलटेनिस र श्याम साइक्लिङ प्रशिक्षक हुन् ।
मनोनयनमा परेकामध्येबाट एक–एक जनालाई उत्कृष्ट धरान वर्ष खेलाडी, उत्कृष्ट प्रशिक्षक र राइजिङ स्टार अवार्ड दिइनेछ । यस्तै एक जना उत्कृष्ट खेल पत्रकारलाई समेत अवार्ड दिइने आयोजकले जनाएको छ ।
उत्कृष्ट धरान वर्ष खेलाडी महिला र पुरुषले जनही नगद ३० हजारसहित अवार्ड पाउनेछन् भने उत्कृष्ट वर्ष प्रशिक्षकले नगद २० हजारसहित अवार्ड हात पार्नेछन् । यस्तै, द राईजिङ स्टार खेलाडी र उत्कृष्ट खेल पत्रकारले नगद १५ हजार रुपैयाँ पाउनेछन् ।
कार्यक्रममा पारा ओलम्पिकमा पदक जित्ने धराने खेलाडी विवेक राईलाई पनि नगद १० हजारसहित बिक्रम राई स्मृति अवार्डबाट पुरस्कृत गरिने मञ्चका अध्यक्ष राईले जानकारी दिए । उनीहरुलाई आगामी शनिबार अवार्ड कार्यक्रम आयोजना गरी पुरस्कृत गरिने मञ्चले जनाएको छ । खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले धरान खेलकुद मञ्चले प्रत्येक वर्ष ‘स्पोर्ट्स अवार्ड’ प्रदान गर्दै आएको छ ।
