करण इन्फर्मेटिक्सका एम्बासडर

राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर करणले हालै स्कटल्यान्ड भ्रमणमा उच्च प्रदर्शन गरेका थिए

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

Ambassador of Karan Informatics

What you should know

काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी सोमबार इन्फर्मेटिक्स कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर बनेका छन् ।

एम्बासडरसम्बन्धी सम्झौतामा करण र इन्फर्मेटिक्सका प्रबन्ध निर्देशक ज्ञानेन्द्रमान जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता एक वर्षे भए पनि आर्थिक पक्ष खुलाइएको छै । खेलाडीले अरू सबै तनाव भुलेर मैदानमा खेल्न सकोस् भनेर करणसँग हातेमालो गरेको प्रबन्ध निर्देशक जोशीले जनाए । निर्देशक सन्ध्या भण्डारीले पढाइ र खेलकुदसँगै लैजान क्रिकेटर करणसँग जोडिएको बताइन् । 

राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर करणले हालै स्कटल्यान्ड भ्रमणमा उच्च प्रदर्शन गरेका थिए । उनको प्रदर्शनप्रेरित नेपालले डन्डीमा विश्वकप लिग २ का चार मध्ये ३ खेलमा विजय हात पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने सम्भावना देखाएको थियो ।

‘एउटा खेलाडीको रूपमा मैले इन्फर्मेटिक्सबाट शिक्षा क्षेत्रमा के कति सहयोग गर्न सक्छु, त्यो थाहा छैन । तर एउटा खेलाडीको रूपमा मैदानभित्र शतप्रतिशत दिन प्रयास गर्नेछु, त्यसका लागि यो वातावरण बनाइदिएकामा संस्थाप्रति धन्यबाद भन्न चाहन्छु,’ करणले भने । 

स्कटल्यान्ड भ्रमणमा करणले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गरेका थिए । उनले ८१ खेलमा १ सय ३ विकेट लिनुका साथै १५० माथिको स्ट्राइक रेटमा ४ सय ६८ रन बनाएका छन् । ५० ओभरको खेलमा उनले अझ प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनले ६१ खेलमा ८६ विकेट लिनुका साथै ५ सय ६५ रन बनाएका छन् ।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले कन्सल्टेन्सीहरूले विदेशमा विद्यार्थी पठाउनेमात्र नभई स्वदेशमै रहेका विद्यार्थीलाई पनि अझ सक्षम बनाउन लागिरहेकाले समाजका आदरणीय व्यक्तित्वसँगको सम्झौताले त्यसमा ठूलो सहयोग पुग्ने बताए । 

एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको सफलतामा आफ्नो क्षेत्रको पनि ठूलो सहयोग रहेको जनाए । इक्यान पूर्वमहासचिव दीपक गुरुङले यस्ता खाले सम्झौताले राज्यलाई केही गर्नुपर्छ भन्ने सन्देश जाने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully