काठमाडौँ — अखिल नेपाल टेबलटेनिस संघले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपको दक्षिण एसियाली छनोट बुधबार आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा भुटान र पाकिस्तानबाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशकसमेत आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराए । भारतबाट १०, नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सबाट ८–८ खेलाडीले भाग लिने छन् ।
नेपालबाट ४–४ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकंबञ्जार र गनन्जय दाहालले खेल्नेछन् । महिलामा बियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेल छन् । नेपाली टोलीका मुख्य प्रशिक्षकमा मोहनदास बासुकला, प्रशिक्षकमा सन्जिवकुमार ढुंगोल र सन्ध्या शाक्य रहेका छन् ।
राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष/महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन् । विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इंग्ल्यान्डमा अर्को वर्षको सेप्टेम्बरमा हुनेछ ।
यदि छनोटमा पहिलो हुने राष्ट्र भारतको उडिसामा अक्टोबर ११ देखि १५ तारिखसम्म हुने एसियन टिम टेबलटेनिस च्याम्पियनसिपमा शीर्ष १२ स्थानमा रहन सफल भएको खण्डमा दक्षिण एसियाली छनोटमा दोस्रो हुने राष्ट्रले पनि बेलायत यात्रा गर्न पाउने छ ।
आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले यो प्रतियोगिता नेपाली टेबलटेनिसमा ठूलो प्रतियोगितामध्ये एक भएको बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख ४५ हजार खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
