अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहनस्वरुप ५० हजार नगद प्रदान गर्ने घोषणा गरे ।
What you should know
काठमाडौँ — काठमाडौं जिल्ला तेक्वान्दो संघले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा भाग लिने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।
मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्नेछन् । टोली साउन १३ मा मलेसिया जाने छ ।
पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा भाग लिने छन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता र ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्नेछन् ।
महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्नेछन् । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जाने छिन् ।
पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा प्रशिक्षकको भूमिकामा छन् । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् । प्रशिक्षक लामाले वरीयता सुधार गर्न प्रतियोगता महत्त्वपूर्ण भएको बताए । नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । हालसम्म नेपालले १ रजत र ५ गरी ६ पदक जितेको प्रशिक्षक लामाले बताए । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य जितेका छन् ।
टोलीलाई नेपाल च्याम्बर अफ कमर्सअन्तर्गत शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रुपक राजवंशी र उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले बिदाइ गरे ।
अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहनस्वरुप ५० हजार नगद प्रदान गर्ने घोषणा गरे । लायन्स क्लब अफ काठमाडौं तेक्वान्दो नेपाल र लायन्स क्लब अफ काठमाडौं मेरिगोल्डको पहलमा अमेरिकामा बस्दै आएकी पूर्व तेक्वान्दो खेलाडी सुमी परियारले उपलब्ध गराएको ट्र्याकसुट हस्तान्तरण गरिएको थियो । काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि टोलीलाई टिसर्ट उपलब्ध गराएको थियो ।
