भदौ २९ गते पोखरामा हुँदै
What you should know
काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई राजधानी बाहिर आयोजना गर्ने घोषणा गरेको छ ।
२०६० सालदेखि निरन्तर आयोजना भइरहेको यस पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण भदौ २९ गते पोखरामा गरिने भएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको बताए । उनले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा अवार्डलाई पनि देशव्यापी लैजाने उद्देश्य राखेको दाबी गरे । पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेकाले स्पोर्ट्स अवार्ड पोखरा लैजान लागेको अध्यक्ष अधिकारीले बताए ।
अवार्डका लागि प्रमुख प्रायोजक गोल्छा ग्रुप र मञ्चबीच प्रायोजन सम्झौता पनि भएको छ । त्यसका लागि गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र मञ्चका अध्यक्ष अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
मञ्च र गोल्छा ग्रुपबीच स्पोर्टस अवार्डकै लागि सहकार्य भएको यो १७ औं वर्ष हो । यस वर्ष प्रायोजनलाई पुनः नवीकरण गर्दै ५ वर्षे सम्झौता भएको जनाइएको छ ।
पोखरामा स्पोर्ट्स अवार्ड आयोजना गर्ने विषयले आफूहरू उत्साहित बनाएको बताउँदै ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले भने, ‘खेलकुदमा मुभमेन्ट, युथ एन्ड प्यासन छ, जसका कारण खेलकुदले देशलाई एकताबद्ध गर्न सक्छ । त्यो प्यासनसँग पल्सर पनि जोडिएको छ ।’
निर्देशक गोल्छाले यस वर्ष अवार्डका लागि नगद र पल्सर मोटरसाइकलसहित झन्डै ४० लाख बराबरको प्रायोजन गरेको जानकारी गराए । गत वर्षको तुलनामा यसपालि रकममा ३३ प्रतिशत वृद्धि गरिएको जनाइएको छ ।
मञ्चका महासचिव अञ्जन खड्काले यस वर्ष पनि पल्सर स्पोर्ट्स अवार्डमा १० विधा नै समावेश गरिएको जानकारी गराए । वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट र टिम अफ दी इयर अवार्ड विधा रहनेछ । सबै विजेताको घोषणा अवार्डकै दिन हुनेछ । महासचिव खड्काले भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने बताए । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक विधाको मनोनयन पनि कार्यक्रमअघि नै सार्वजनिक गरिने जनाइएको छ ।
पुरस्कारको रुपमा वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ ।
एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कुनै पनि संस्थाले २२ वर्षसम्म एउटै कार्यक्रम निरन्तर आयोजना गर्नु र एउटै प्रायोजकसँग १७ वर्षको सहकार्य दुर्लभ भएको बताए । उनले स्पोर्ट्स अवार्डबाट खेलाडीलाई सम्मान गरिरहँदा खेल पत्रकारिताको दायरा पनि फराकिलो भएको महसुस आफूहरूले गरेको बताए ।
गत वर्षका विजेता
गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले हासिल गरेकी थिइन् ।
स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको थियो । एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई टिम अफ द इयरबाट सम्मानित गरिएको थियो ।
