धनगढी — धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले अपि शिक्षा परियोजनाअन्तर्गत कक्षा ११ मा अध्ययनरत दुई जना विद्यार्थीलाई ६ वर्षे पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।
दार्चुलाको अपी हिमालकी छात्रा सम्झना ठेकरे र चुरे गाउँपालिका-१ कैलालीका छात्र सुनिल बोहरालाई छात्रवृत्ति प्रदान गरिएको हो । सम्झना र सुनिलले स्नातक तहसम्म अध्ययन गर्न आवास, खाना, पोसाक, शैक्षिक सामग्रीलगायत सम्पूर्ण शैक्षिक सुविधा प्राप्त गर्ने एकेडेमीले जनाएको छ । बेलायतको अक्सफोर्डस्थित ट्रस्टीहरुद्वारा प्रायोजित उक्त परियोजना ग्रामीण तथा आर्थिक रुपमा पछाडि परेका क्षेत्रका विद्यार्थीहरुको सहयोगका लागि सुरु गरिएको ऐकेडेमीले जनाएको छ ।
छात्रवृत्ति घोषणा कार्यक्रममा ट्रस्टी अध्यक्ष क्रिस्टोफर वाल्टर्सको प्रतिनिधित्व गर्दै नेपाल आइपुगेकी ट्रस्टी सदस्य भ्यालेरी जोन्स, स्थानीय साझेदार एवं एसपीएकी विदेश विभाग प्रमुख अपर्णा गुप्ता र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम उपाध्यायले कलेजमा अध्ययनरत विद्यार्थीहरु, प्राध्यापकहरु अन्य अतिथिहरुबीच छात्रवृत्ति हस्तान्तरणका साथै समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
