६ सदस्यीय नेपाली टोली शुक्रबार राति सिंगापुर जाँदै
What you should know
काठमाडौँ — नेपालका चार पौडी खेलाडीले सिंगापुरमा हुने विश्व एक्वाटिक च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ६ सदस्यीय नेपाली टोली शुक्रबार राति सिंगापुर जानेछ ।
प्रतियोगितामा नेपालका २–२ पुरुष/महिला खेलाडीले भाग लिने छन् । चारै खेलाडीले २–२ स्पर्धामा भाग लिनेछन् ।
पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।
व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा र प्रशिक्षकमा शंकर कार्की छन् ।
प्रतियोगिता अगस्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाई २७ देखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जनाएका छन् । जुलाई २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले १ सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले २ सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २ सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ । जुलाई ३० मा इर्भिनले १ सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले १ सय मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठलगायतले बिदाइ गरे । अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीबाट कम्तीमा २ राष्ट्रिय कीर्तिमानको अपेक्षा गरेको बताए । मुख्य प्रशिक्षक कार्कीले यो सहभागिताले २० औं एसियाली खेलकुदको तयारीमा पनि मद्दत पुग्ने अपेक्षा व्यक्त गरे ।
