What you should know
लमजुङ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेको छ । यस्तै, मर्स्याङ्दी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, अमर मावि खुदीलगायतले पनि सम्मान गरेको छ ।
गाउँपालिकाले पालिका केन्द्र भुलभुलेमा बिहीबार एक कार्यक्रमको आयोजना गरी साम्बालाई सम्मान गरेको हो । सावित्राको दीर्घकालीन योगदान, अन्तर्राष्ट्रिय उपलब्धि र गाउँको गौरव बढाएकोमा गाउँपालिकाले उनलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी पामचोक बाँसबोट घर भएकी उनलाई गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष रवि थापा, मर्स्याङ्दी युवा तथा खेलकुद विकास समिति अध्यक्ष खेम घले, अमर मावि खुदीका अधयक्ष अमृता पोखरेल, प्रधानाध्यापक तीर्थबहादुर बस्नेतलगायतले दोसल्ला ओढाउनुका साथै फूलमाला, खदा लगाउँदै सम्मानपत्र, मायाको चिनोलगायतले सम्मान गरेका थिए । सावित्राले आफूले लगाउने जर्सी गाउँपालिका अध्यक्ष गुरुङलाई उपहार प्रदान गरिन् ।
उक्त अवसरमा आयोजित मर्स्याङ्दी गाउँपालिकाभित्र रहेका अण्डर १९ खेलाडी र विद्यार्थीसँग साक्षात्कार गर्दै साम्बाले अनुशासन, लगनशीलता र अठोटले मानिसलाई सफलतापूर्वक उन्मुख गराउने बताइन् । ‘मैले अझै धेरै अघि बढ्नु छ । मलाई अझै धेरैजना म जस्तै फुटबल खेलेको हेर्न मन छ । यसका लागि सरकारले वातावरण बनाइदिनु पर्छ’ उनले भनिन् ।
साम्बा हालैमात्र न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्धित भएकी छन् । अस्ट्रेलियाको ए–लिग महिला फुटबलको नयाँ सिजनका लागि क्लबले उनलाई अनुबन्ध गरेको हो । यसअघि उनले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट खेलेकी थिइन् । उक्त क्लबसँगको यात्रा विट मार्दै उनी २ महिनाअघि नेपाल फर्केकी थिइन् ।
