गोरखा — नेपाल कराते महासंघले प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।
श्रीलंकाको कोलम्बोमा भएको नवौं दक्षिण एशियाली कराते प्रतियोगिता–२०२५ मा सहभागी बनेर स्वर्ण पदक जितेका अर्पण थापा मगर र कांस्य पदक विजेता स्मृति गुरुङ सहितका खेलाडीलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
शहिद लखन गाउँपालिका–७ का अर्पण थापा मगरले १६–१७ (७६ केजी) समूहमा स्वर्ण पदक प्राप्त गरेका थिए । त्यस्तै स्मृति गुरुङले यू–२१(६८ केजी) समूहमा कांस्य पदक प्राप्त गरेकी थिइन् । त्यस्तै गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा कांस्य पदक विजेता अमृत राना मगर, अनिता नेपाली, रजत पदक विजेता सुजन गुरुङ, स्वर्ण पदक विजेता रुपेश गुवाजु, सृष्टि श्रेष्ठलाई पनि सम्मान गरिएको छ । करातेको राष्ट्रिय प्रतियोगितामा कांस्य पदक विजेता वसन्त परियारलाई पनि सम्मान गरिएको छ ।
सोही अवसरमा २०५२ सालदेखि गोरखा जिल्लामा नेपाल सितोरियो कराते खेलमा प्रशिक्षण गराउँदै आएका ग्यामजो लामालाई पनि सम्मान गरिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी पुर्याएको योगदानको कदर गर्दै प्रशंसापत्रसहित लामालाई सम्मान गरिएको हो ।
गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर र उपप्रमुख मसली माया थोकर लगायतले उनीहरुलाई प्रशंसापत्रका साथ सम्मान गरेका हुन् ।
