काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच महिला र पुरुष दुवैको द्विपक्षीय क्रिकेट शृंखला आयोजना गर्न सैद्धान्तिक सहमति भएको छ । यो सम्झौता २०२६ देखि लागू हुने क्यानले जनाएको छ ।
सहमतिअनुसार कम्तीमा तीन ट्वान्टी–२० र थप ५० ओभरको खेल प्रत्येक वर्ष ‘होम एन्ड अवे’ का आधारमा हुनेछ । अक्टोबरमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप एसिया एवं एसिया–प्यासिफिक छनोटमा नेपाल र कुवेत एकै समूहमा रहेका छन् । यो साझेदारीका लागि यो उपयुक्त समय भएको क्यान र कुवेत क्रिकेट बोर्डको बुझाइ छ ।
यो रणनीतिक सहकार्यले यस क्षेत्रको एसोसिएट राष्ट्रबीच अन्तर्राष्ट्रिय एक्सपोजर बढाउने र प्रतिस्पर्धात्मक क्रिकेटलाई प्रवर्द्धन गर्ने दिशामा एक प्रमुख कदम रहने विश्वास क्यानको छ । यसले एसियाकै क्रिकेटका प्रवर्द्धन र विकासका लागि कोसेढुंगा बन्ने आस क्यानले लिएको छ ।
नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप खेलेर आफ्नो प्रतिभा प्रस्तुत गरिसकेको छ ।
