पाकिस्तानविरुद्ध बंगलादेशलाई पहिलो शृंखला

श्रावण ७, २०८२

एएफपी

First series for Bangladesh against Pakistan

ढाका — बंगलादेशले पाकिस्तानविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २–० को अग्रतासँगै जितेको छ । फाहिन असरफ र अहमद डानियलको चुनौती पन्छाउँदै बंगलादेशले मंगलबार दोस्रो ट्वान्टी–२० खेल ८ रनले जितेको हो ।

पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको बंगलादेशले तीन खेलको शृंखलामा २–० को अविजित अग्रता लिएको थियो । बंगलादेशले चौथो प्रयासमा पाकिस्तानविरुद्ध शृंखला विजय हात पारेको यो पहिलो अवसर हो । तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ । 

असरफले ३२ बलमा ५१ र ‘डेब्यु’ गरिरहेका डानियलले ११ बलमा १७ रन बनाए पनि ढाकामा १ सय ३४ रनको लक्ष्य पाएको पाकिस्तान १९.२ ओभरमा १ सय २५ रनमा अलआउट भयो । अन्तिम ओभरको दोस्रो बलमा डानियलले क्याच दिन पुगेपछि पाकिस्तान लगातार दोस्रो दिन पराजित पुग्यो ।

बंगलादेशका देव्रेहाते तीव्र गतिका बलर सोरिफुल इस्लामले १७ रन खर्चेर २ विकेट लिएपछि मिरपुरको विकेटमा पाकिस्तानले पहिलो ५ ओभरमा १५ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । यसअघि जाकर अलीले ४८ बलमा ५५ रन बनाएपछि ब्याटिङका लागि पहिला पठाइएको बंगलादेश पूरा २० ओभर ब्याटिङ गरेर १ सय ३३ रनमा अलआउट भयो ।

एएफपी

Link copied successfully