What you should know
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) मा स्वर्णसहित दोहोरोअंकमा पदक जित्ने लक्ष्य लिएको छ ।
परिषदका सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षक उपस्थित बैठकलाई सम्बोधन गर्दै उक्त लक्ष्य बताएका हुन् ।
‘यो जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने योजना हो । मिसन २०२६ देशलाई खुसी दिलाउने योजना हो,’ उनले भने ।
उनले खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाए मात्र धेरैभन्दा धेरै पदक जित्न सक्ने बताए । उनले ‘मिसन २०२६’ सफल पार्न सम्बन्धित खेल संघको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । सदस्यसचिवले एसियाली खेलकुद आउन १३ महिना बाँकी रहेकाले यस अवधिमा कुन–कुन समय के गर्ने भनेर एक साताभित्र स्पष्ट र ठोस कार्ययोजना संघलाई निर्देशन पनि दिए ।
घिसिङले खेलाडीको प्रशिक्षणका लागि संघले अन्तर्राष्ट्रिय दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिँदै आ–आफ्नो अन्तर्राष्ट्रिय महासंघ र दूतावाससँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले मिसन–२०२६ का लागि हाल २ करोड ७० लाख आएको बताए । बजेट कम आएको भनेर चिन्ता नगर्न आग्रह गर्दै संघहरूबाट ठोस योजना आए गम्भीर भएर बजेट निकासामा पहल गरिने प्रतिबद्धता जनाए । नेसनल हाइपर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना हुनुले पनि नेपाली खेलाडीको क्षमतामा उल्लेख्य सुधार हुने उनको अपेक्षा थियो ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव लिन बैठक राखिएको बताए । उनले खेलाडीको फिटनेस टेस्टपछि प्रशिक्षण सुचारु हुने जानकारी गराए ।
सहभागी खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकले खेल सामग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षकको व्यवस्था वा वैदेशिक प्रशिक्षण, सुविधामा वृद्धि, खुराक, स्पाइरिङ पार्टनरको व्यवस्थालगायतका विषयबारे आफ्नो भनाइ राखेका थिए ।
जापानमा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राखेपले आव २०८०/८१ देखि मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो ।
कुनै पनि एसियाली खेलकुद वा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरु गरिएको नेपाली खेलकुद इतिहासमै पहिलो पटक हो । पारा तेक्वान्दोसहित विभिन्न १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षकसहित १ सय २१ जनालाई सुविधासहित विशेष प्रशिक्षणमा राखिएको थियो ।
