What you should know
अमेरिका — क्यालिफोर्नियाको सानफ्रान्सिस्को भलिबल टिमले पहिलो संस्करणको एनएसटी इन्टरस्टेट भलिबल कपको उपाधि जितेको छ । टेक्सासको इमेज भलिबल कोर्ड ग्रान्ड पेरीमा नेपाली समाज टेक्सास (एनएसटी) ले आयोजना गरेको दुई दिने प्रतियोगिताको फाइनलमा सानफ्रान्सिस्कोले रिजउड नेपाली समाज न्युयोर्कलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपधि जितेको हो ।
उपाधि जितेको सानफ्रान्सिस्कोले ८ हजार अमेरिकी डलर प्राप्त गरेको छ । सेमिफाइनलमा सानफ्रान्सिस्कोले रुकुमलाई २–१ र न्युयोर्कले रुकुम वेस्टलाई २–१ को सेटले हराएको थियो । न्युयोर्कले ५ हजार र तेस्रो भएको टेक्सास अस्टिनको रुकुम वेस्टले २ हजार अमेरिकी डलर पाए ।
रुकुम वेस्टले अस्टिनकै टिम रुकुमलाई ३–० सेटले हरायो । व्यक्तिगत विधातर्फ सानफ्रान्सिस्कोका दीपक सर्वोत्कृष्ट खेलाडी भए । लक्ष्मण उत्कृष्ट ब्लकर, महेन्द्र उत्कृष्ट स्पाइकर र गोपाल उत्कृष्ट लिफ्टर चुनिए ।
प्रतियोगितामा १६ टिम सहभागी थिए । आयोजक एनएसटीका अध्यक्ष राजेन्द्र वाग्लेले खेलकुदमा नेपाली समुदायलाई प्रवर्द्धन गर्नेसँगै भाइचारा बढाउने उद्देश्यले भलिबल खेल आयोजना गरिएको बताए ।
एनएसटीका महासचिव विजय भुसालले खेलकुदको माध्यमबाट प्रवासमा सभ्य र संगठित समाज निर्माण गर्न नेपाली समुदायका संघसंस्था निरन्तर सक्रिय रहेको बताए ।
