काठमाडौँ — क्वालिटी काठमाडौं स्कुल्स (क्यूकेएस) ले नोभेम्बरमा प्रथम क्यूकेएस अन्तरस्कुल क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
धुम्बाराही क्रिकेट मैदानमा क्यूकेएस अन्तरस्कुल क्रिकेट नोभेम्बर २० देखि सुरु हुने मंगलबार आयोजकले जानकारी गराएको छ ।
उपत्यकाका ३२ स्कुलहरू मिलेर बनेको संगठन क्यूकेएस हो । क्यूकेएसका अध्यक्ष दिलीप रानामगरले मिलेर गर्यौं भने अझ राम्रो शिक्षा दिन सकिन्छ भनेर क्वालिटी काठमाडौं स्थापना गरिएको बताए । उनले विद्यार्थीलाई सीप, टिमवर्क र खेलकुदमा उत्कृष्ट अवसर प्रदान गरिने बताए ।
प्रतियोगिताका सहभागीले स्कुलमा आफ्नो स्कुलमा अध्ययनरत छात्र/छात्रा जसलाई पनि टिममा समावेश गर्न पाउने अध्यक्ष रानामगरले बताए ।
खेल १० ओभरको हुने र खेल्नबाट कसैलाई वञ्चित नगराउने प्रतियोगिताका प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले बताए । क्युकेएस छातामुनिका स्कुलका १६ टिमको सहभागिता रहने छ । सहभागीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । प्रतियोगितामा विजेता र उपविजेतासँगै सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट बलर र ब्याटरलाई पुरस्कृत गरिने क्यूकेएसका हरि लामाले बताए ।
