काठमाडौँ — नेपालका सुनिल खड्काले एक मिनेटमा सर्वाधिक क्ल्याप पुल–अप्सको गिनिज वर्ल्ड रेकर्डसमा कीर्तिमान बनाएका छन् ।
उनले ३२ पटक क्ल्याप पुल–अप्स गर्दै यसअघि अमेरिकी नागरिकको नाममा रहेको कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । सन् २०१५ मा अमेरिकाका ब्लेक अस्टिनले ३० पटकको कीर्तिमान कायम गरेका थिए ।
राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सुनीलले क्यालिस्थेनिक्स विधाअन्तर्गत उक्त कीर्तिमान रचेका हुन् । उनले नेपालीका लागि गर्वको क्षण भएको र नेपालका युवाहरू कुनै देशका युवाभन्दा कमजोर नरहेको बताए ।
‘मैले यो कीर्तिमान १० वर्षदेखि कसैले तोड्न नसकेको पाएँ । आफू यही क्षेत्रमा भएको हुँदा प्रयास गर्छु भन्नेमात्रै सोच थियो । तर, पनि कीर्तिमान नै आफ्नो नाममा ल्याउन सफल भएँ,’ उनले भने ‘कीर्तिमान बनाउनु नै मेरो लक्ष्य थिएन । तर, मेरो कीर्तिमानले नेपालका युवाहरू प्रेरित होऊन भनेर देखाएँ ।’
२५ वर्षीय सुनिल पेसाले एरोस्पेस इन्जिनियर हुन् । उनले अबको लक्ष्य क्यालिस्थेनिक्स वर्ल्ड च्याम्पियनसिपमा च्याम्पियन भएर नेपालको झन्डा फहराउने रहेको बताए ।
