‘खेलकुदको मिसन–२०२६ देश खुसी बनाउने योजना हो’

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

”Sports Mission-2026 is a plan to make the country happy”

What you should know

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन–२०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको बताएका छन् ।

उनले गत आवमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै भने, ‘मिसन–२०२६ देशलाई खुसी बनाउने योजना हो । यो जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने योजना हो ।’

उनले एसियाड आयोजना हुने बेलासम्म आफू पूर्व सदस्यसचिव भइसकेको हुने स्मरण गराउँदै भने, ‘त्यसले कुनै फरक पर्दैन । तर, खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनुपर्छ तबमात्र खेलाडीले पदक जित्न सक्छन् ।’

उनले यो योजना सफल पार्न सम्बन्धित खेल संघको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, ‘एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी छ । यो अवधिमा कुन–कुन समय के गर्ने भनेर स्पष्ट र ठोस कार्ययोजना एक साताभित्र बुझाउनुस् ।’

उनले खेलाडीको प्रशिक्षणका लागि संघले अन्तर्राष्ट्रिय दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिँदै अन्य देश, आ–आफ्नो अन्तर्राष्ट्रिय महासंघ र दूतावाससँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

सदस्य–सचिव घिसिङ मिसन–२६ का लागि हाल २ करोड ७० लाख मात्र छ भनेर चिन्ता नगर्न आग्रह गर्दै संघहरूबाट ठोस योजना आए बजेटका लागि गम्भीर भएर पहल गरिने प्रतिबद्धता जनाए ।

उनले नेपाल हाइपर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना हुनुले पनि खेलाडीको क्षमतामा उल्लेख्य सुधार हुने अपेक्षा जनाए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव लिन बैठक राखिएको बताए । खेलाडीको फिटनेस टेस्टपछि प्रशिक्षण सुचारु हुने जानकारी गराए ।

सहभागी खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकले खेल सामग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षकको व्यवस्था वा वैदेशिक प्रशिक्षण, सुविधामा बृद्धि, खुराक, स्पाइरिङ पार्टनरको व्यवस्थालगायतका विषयबारे चर्चा गरेका थिए ।

जापानमा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राखेपले आ.व. २०८०/८१ देखि मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो । कुनै पनि एसियाली खेलकुद वा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरु गरिएको नेपाली खेलकुदको इतिहासमै पहिलो पटक हो । पारा तेक्वान्दोसहित विभिन्न १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षकसहित १ सय २१ जनालाई सुविधासहित विशेष प्रशिक्षणमा राखिएको थियो ।

कान्तिपुर

Link copied successfully