What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्स नयाँ लोगोसहित आएको छ । लोगो केवल एक ग्राफिक चिन्हमात्र नभई यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने लायन्सको बुझाइ छ ।
लुम्बिनी लायन्सको यसअघिको लोगोमा सिंह गर्जिएको थियो । त्यसमा कलर परिवर्तन गरी सिंह गर्जिएको पृष्ठभूमिमा बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा इशापूर्व २४९ मा स्थापना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्रसूर्यको प्रतीक समावेश गरिएको छ ।
लुम्बिनीका अध्यक्ष ईश्वर जीसीले भने, ‘यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्तिमात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ । लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गौरवलाई एउटै प्रतीकमा समेटेको छ ।’
