लिभरपुलमा फ्रान्सेली स्ट्राइकर इकिटिके

श्रावण ६, २०८२

एएफपी

French striker Ekitike to Liverpool

What you should know

लन्डन — लिभरपुलले सोमबार इन्ट्राक्ट फ्य्रांकफर्टका स्ट्राइकर हुगो इकिटिकेलाई भित्र्याउने विषयमा सहमति जनाएको छ । समाचारहरूमा जनाइए अनुसार उनको सरुवा रकम ९ करोड २० लाख डलर रहेको छ । 

न्युक्यासलले स्विडेनका स्ट्राइकर एलेजान्डर इसाकलाई बिक्री गर्न अस्वीकार गरेपछि प्रिमियर लिग च्याम्पियन लिभरपुलले आफ्नो ध्यान त्यहाँबाट मोड्दै इकिटिकेमा लगाएको थियो । लिभरपुलले इसाकमाथि १२ करोड भाउ लगाउदै न्युक्यासल सामु प्रस्ताव राखेको थियो, तर न्युक्यासलले उनको मूल्य १५ करोड हाराहारी राखेपछि लिभरपुलले इसाकको विकल्प हेरेको हो ।

युरोपको एउटा ठूलो युवा प्रतिभालाई लिन न्युक्यासल र म्यानचेस्टर युनाइटेडले पनि इच्छा देखाएका थिए । तर अन्तमा लिभरपुलले बाजी मारेको थियो । लिभरपुलले इसाकलाई प्रस्ताव राखेपछि आफ्नो प्रमुख स्ट्राइकर सरुवा भएमा न्युक्यासलले पनि विकल्पमा इकिटिकेलाई नै राखेको थियो । तर इसाकलाई बिक्री नगर्ने अडान न्युक्यासलले राखेपछि लिभरपुलको पहिलो रोजाइ इकिटिके बनेको थियो । 

फ्रान्सका २३ वर्षे इकिटिकेका लागि लिभरपुलले अर्को १ करोड पाउन्ड खर्च गर्नुपर्ने हुन्छ । उनले राम्रो खेलेमा र लिभरपुलले सफलता हात पारेमा इकिटिकेको सरुवा रकम बढ्ने छ । लिभरपुल अहिले प्रि–सिजनका लागि एसियामा छ । इकिटिकेको सरुवा प्रक्रिया पूरा भएमा उनी पनि लिभरपुलको टोलीमा समावेश हुन एसिया लाग्नेछन् । मंगलबारसम्म उनी लिभरपुलको आधिकारिक खेलाडी बन्ने प्रक्रिया पूरा हुने सम्भावना छ । 

इकिटिकेले गत सिजन फ्य्रांकफर्टबाट कुल ४८ खेलमा २२ गोल गरेका थिए । गत सिजन उनले बुन्डेसलिगामा ३१ खेल खेल्दै १५ गोल गर्नुका साथै ८ गोलमा पास उपलब्ध गराइदिएका थिए । फ्य्रांकफर्टले ३–५–२ को रणनीतिमा खेल्दा इकिटिके र ओमार मारमोउस गत सिजनको पहिलो हाफमा स्ट्राइकर जोडी थिए । मारमाउस जनवरीमा ६ करोड ३० लाख पाउन्डमा म्यानचेस्टर सिटी गएका थिए । उनी पेरिस सेन्ट जर्मेनबाट बुन्डेसलिगाको टोलीमा पुगेका थिए । फ्य्रांकफर्टले शनिबार एफएसभी फ्य्रांकफर्टसँग प्रिसिजन फ्रेन्ड्ली खेल्दा इकिटिकेलाई बेन्चमै सीमित राखेको थियो । त्यसमा फ्य्रांकफर्टका प्रशिक्षक डिनो टोपमोलरले इकिटिकेलाई गुमाउनु परे त्यो ठूलो क्षति हुने जनाएका थिए । 

लिभरपुलका फरवार्ड डिएगो जोटाले गत महिना स्पेनमा कार दुर्घटनामा परेर ज्यान गुमाएका थिए । उनको स्थान लिन लिभरपुलले अर्को स्ट्राइकर हेरिरहेको थियो । लिभरपुल उरुग्वेली स्ट्राइकर डार्विन नुनेजलाई बेच्न व्यग्र छ । नुनेज इटालियन टोली नेपोली जाने सम्भावना छ । त्यस्तै कोलम्बियन फरवार्ड लुइस डियाजलाई बायर्न म्युनिकले राखेको दुई पटकको प्रस्ताव लिभरपुलले अस्वीकार गरिदिइसकेको छ । 

लिभरपुलले यसअघि नै बुन्डेसलिगा टोली बायर लेभरकुसेनबाट जर्मन प्लेमेकर फ्लोरियन विर्टज र जेरेमी फ्रिमपोङ तथा प्रिमियर लिगको अर्को टोली बर्नमाउथबाट मिलोस केर्केजलाई भित्र्याइसकेको छ । ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड रियल म्याड्रिड लागेपछि उनको स्थान लिन लिभरपुलले फ्रिमपोङलाई ल्याएको हो भने लेफ्ट ब्याक एन्डी रोबर्टसनको विकल्पमा केर्केज छन् । 

जर्जियाका गोलरक्षक जियोर्जी मामारदासभिली पनि लिभरपुलको टोलीमा समावेश भएका छन् । लिभरपुलले उनलाई गत वर्ष नै अनुबन्धन गरे पनि लोनमा भ्यालेन्सिया पठाएको थियो ।

एएफपी

Link copied successfully