ताप्लेजुङ गोल्डकप साउन २४ देखि

काठमाडौंको चर्चब्वाइज, पोखराको सहारा र भारतसमेत गरी आठ टिम सहभागी हुने

श्रावण ४, २०८२

आनन्द गौतम

Taplejung Gold Cup from July 24

What you should know

ताप्लेजुङ — तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ देखि ३१ गतेसम्म हुने भएको छ । लाखेजात्रा पर्वको अवसरमा आयोजित प्रतियोगितामा आठ टिमको सहभागिता रहने आयोजकले बताएका छन् ।

सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको प्रांगणमा हुने प्रतियोगितामा बागमती, गण्डकी, मधेश प्रदेश र भारतको टिमसमेत सहभागी हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।

आयोजकको तर्फबाट ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लबले सहभागिता जनाउने छ । पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लब कोशी प्रदेशबाट सहभागी हुनेछन् । मधेश प्रदेशबाट सिराहाको सलहेश युवा क्लब, बाग्मतीबाट काठमाडौंको चर्च ब्वाईज, गण्डकीबाट  पोखराको सहारा क्लब र भारत सिलीगुढीको लेजण्ड फुटबल एकेडेमी सहभागी हुने आयोजकले जानकारी दिए । 

मादेनका अनुसार यस वर्षको प्रतियोगितामा गत वर्षको उपविजेता सलहेश बाहेक सबै नयाँ टिमलाई आमन्त्रण गरिएको छ । विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नव उदियमान, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई १५ हजारका दरले पुरस्कृत गरिने सचिव टिकेन्द्र नेपालीले बताए। 

हरेक दिनको म्यान अफ दि म्याच बन्नेले ७ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् । 

कोषाध्यक्ष दावा शेर्पाका अनुसार क्वाटर फाइनलसम्मको खेलका लागि टिकट दर एक सय रुपैयाँ राखिएको छ भने सेमिफानलमा दुई सय र फाइनलका लागि दुई सय ५० रुपैयाँ तोकिएको छ । १० वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क मैदान प्रवेश गराइने आयोजकले बताएका छन् । खेलाडी र रेफ्रीको एक लाखका दरले बिमा गरिने दावाले बताए । 

प्रतियोगितामा ६४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully