भुटानविरुद्ध ८–० को नतिजापछि नेपालले उपाधि जित्न बंगलादेशलाई हराउनैपर्ने, बंगलादेशलाई भने बराबरी पर्याप्त
What you should know
काठमाडौँ — अपेक्षाअनुसार साफ यू–२० वुमेन्स च्याम्पियनसिपको अन्तिम खेलले नै उपाधि जित्ने टिमको निर्णय गर्नेछ । त्यसमा सोमबार भिड्नेछन् बंगलादेश र नेपाल । अन्तिम दिनको खेल अगाडि बंगलादेश ५ खेलबाट पाँचै जितसहित शीर्षमा छ ।
नेपाल भने १२ अंकमा रहेको छ । डबल राउन्ड रोबिनका आधारमा बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको उपाधि जित्ने हो भने नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ । बंगलादेशलाई उपाधि जित्न भने जितमात्र होइन, बराबरी नतिजा पनि पर्याप्त रहनेछ ।
यी दुईबीचको पहिलो खेलमा बंगलादेश ३–२ ले विजयी भएको थियो । प्रतियोगिताको नियमअनुसार च्याम्पियन हुने टिमको निर्णयका लागि ‘हेड टु हेड’ प्रदर्शन हेरिनेछ । त्यसअनुसार पनि नेपाललाई जित एकमात्र विकल्प रहेको हो । अन्य स्थितिमा गोल अन्तर पनि निर्णायक हुन सक्नेछ ।
दोस्रो अन्तिम दिनको पहिलो खेलमा नेपालले भुटानलाई ८–० ले हरायो भने बंगलादेश श्रीलंकामाथि ५–० ले विजयी रह्यो । बसुन्धारा किंग्स एरिनाको दोस्रो मैदानमा भएको खेलमा नेपालबाट पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे । समिक्षा मगर र कुसुम खतिवडाले पनि एक–एक गोल थपे ।
मीनाले ४४ औं सेकेन्डमा गोलको खाता खोलेयता १२ र ६५ औं मिनेटमा गोल गरिन् । पूर्णिमाले २३, पहिलो हाफको इन्ज्युरी समयको पहिलो र छैटौं मिनेटमा गोल गरिन् । समिक्षाको गोल भने नवौं मिनेटमा सम्भव भएको थियो । कुसुमले ६३ औं मिनेटमा गोल गरिन् ।
खेलपछि प्रतिक्रिया दिँदै नेपाली टिमका मुख्य प्रशिक्षक याम गुरुङले भने, ‘हाम्रो प्रदर्शन अनुशासित रह्यो । यो खेल दुवै टिमका लागि मौसमका कारण गाह्रो भयो, किनभने खेलमा बेला निकै गर्मी थियो । सम्भवतः भुटानी खेलाडीलाई बढी गाह्रो भएको हुनसक्छ ।’
प्रशिक्षक गुरुङले भुटानमाथिको जितमा खुसी व्यक्त गर्दै बंगलादेशविरुद्धको निर्णय खेलतर्फ इंगित गर्दै भनेका छन्, ‘हाम्रा लागि यो असाध्यै महत्त्वपूर्ण खेल हुनेछ । त्यस अगाडि टिममा के कस्ता कमजोरी छन्, त्यसलाई सुधार्ने प्रयास गर्नेछौं । अबको खेलमा हामीले निकै सतर्क अपनाएर खेल्नुपर्ने हुन्छ ।’
भुटानविरुद्ध ह्याट्रिक गरेकी मीनाले पनि आफ्नो प्रदर्शनमा खुसी देखाइन् । उनले भनिन्, ‘भुटानविरुद्धको पहिलो खेलमा मैले खेल्ने मौका पाएको थिइनँ । यसपल्ट पाएँ र ह्याट्रिक पनि गरें, त्यसैले मात्र धेरै खुसी छु । अब बंगलादेशविरुद्ध खेलमा हामीले एक ढिक्का भएर खेल्नुपर्ने हुन्छ ।’
