विश्व पारा एथलेटिक्समा प्रभा र हिमाल

श्रावण २, २०८२

ध्रुव तुलाधर

Prabha and Himal in World Para Athletics

काठमाडौँ — पारा एथलेटिक्सका खेलाडीद्वय प्रभा आङदम्बे र हिमाल अर्यालले विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि सिधै प्रवेश पाएका छन् । नेपालले भाग लिन लागेको पारा एथेटिक्सको यो सबैभन्दा ठूलो इभेन्ट हो ।

विश्व पारा एथलेटिक्स च्याम्पियनसिपको १२ औं संस्करणको रूपमा आउँदो सेप्टेम्बर २७ देखि अक्टोबर ५ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुनेछ । यसलाई भारतमा हुन लागेको सबैभन्दा ठूलो पारा खेलकुद कार्यक्रमको रूपमा लिइएको छ । जहाँ विश्वभरका पारा एथलेटिक्सका १ हजारभन्दा बढी खेलाडीलाई आतिथ्यता दिइनेछ । विश्व च्याम्पियनसिपमा १८६ पदक इभेन्ट रहेको छ । त्यसमा १०१ पुरुष, ८४ महिला र एक मिश्रितको समावेश हुनेछ । यो जापानको कोबेमा भएको पछिल्लो च्याम्पियनसिपको भन्दा १५ इभेन्ट बढी हो ।

प्रभा लङजम्पकी र हिमाल सटपुटका खेलाडी हुन् । गत मार्चमा भारतमै सम्पन्न वर्ल्ड पारा च्याम्पियनसिपको दिल्ली ग्रान्ड प्रिक्समा प्रभाले ऐतिहासिक रजत जितेकी थिइन् । उनले टी–४७ क्याटगोरीअन्तर्गत महिला लङजम्पमा ३.९६ मिटर जम्प गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन् । प्रभा ४०० मिटर दौडमा पनि पदक नजिक पुगेकी थिइन् । तर, थोरै सेकेन्डले चुक्दा उनी चौथो स्थानमा रहिन् ।

४ सेकेन्डले अघि रहेकी मलेसियाकी नुर फरहानीले कांस्य जितेकी थिइन् । पाँचथरकी जन्मेकी २४ वर्षीया प्रभाको जन्मजात दाहिने हातको कुहिनामुनिको भाग छैन । सोही ग्रान्ड प्रिक्समा हिमालले पनि पुरुष एफ–५५ क्याटगोरीअन्तर्गत पुरुष सटपुटमा सहभागिता जनाएका थिए । उनको प्रदर्शन भने औसत रहेको थियो । द्वन्द्वका बेला एम्बुसमा परेर घाइते भएपछि उनको सहारा ह्विलचेयर बन्यो । उनी घरेलु भूमिमा ह्विलचेयर बास्केटबल पनि खेल्छन् । 

पारा एथलेटिक्स संघ नेपालका सचिव साङ्बु भोटेले नेपाली एथलेटिक्सका पारा खेलाडीका लागि वर्ल्ड च्याम्पियनसिपमा पुग्नु ऐतिहासिक उपलब्धि भएको बताए । उनले भने, ‘नेपाली पारा एथलेटिक्स खेलाडीले पहिलो पटक वर्ल्ड च्याम्पियनसिप खेल्ने मौका पाएको छ, यो हाम्रा लागि ठूलो उपलब्धि हो, यसले सम्पूर्ण पारा एथलेटिक्सलाई गौरवान्वित बनाएको छ ।’ 

ग्रान्ड प्रिक्सहरूमा गरेको प्रदर्शन आधारमा दुवै खेलाडी सिधै कोटामा परेका हुन् । वर्ल्ड पारा एथलेटिक्स (डब्लूपीए) को १२ औं ग्रान्ड प्रिक्स २०२५ सिजन दुबईबाट सुरु भएको थियो । प्रभाले दुबईमा ३.५६ मिटर जम्प गर्दै आठौं स्थानमा यात्रा टुंग्याएकी थिइन् ।

‘वर्ल्ड च्याम्पियनसिप पुग्ने हाम्रो पहिलो लक्ष्य थियो, त्यसमा सफलता पाएका छौं । अब भनेको वर्ल्ड च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने बनाएर अगाडि बढ्ने हो,’ सचिव साङ्बुले थपे । लस एन्जलस २०२८ पारा ओलम्पिकको नयाँ चक्रका लागि ग्रान्ड प्रिक्स र वर्ल्ड च्याम्पियनसिपको प्रदर्शन महत्त्वपूर्ण रहने उनले बताए । 

पहिलो विश्वविद्यालय खेलकुद प्रतियोगिताको प्रदर्शनबाट पारा एथलेटिक्सतर्फ आकर्षित भएकी प्रभाले वर्ल्ड च्याम्पियनसिप छनोट हुनुलाई आफ्नो मिहिनेतको फल बताएकी छन् । उनले वर्ल्ड च्याम्पियनसिपका लागि राम्रो तयारी गरेर जान पाए उच्च प्रदर्शन दिने अठोट जनाइन् । यो विश्व एथलेटिक्स च्याम्पियनसिप एसियाले चारपल्ट आयोजना गरिसकेको छ । कतारमा दोहा २०१५, संयुक्त अरब इमिरेट्समा दुबई २०१९ र जापानमा कोबे २०२४ को संस्करण भएको थियो ।

ध्रुव तुलाधर तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully