What you should know
काठमाडौँ — दोस्रो महिला कबड्डी विश्वकपमा भाग लिन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । टोली १४ खेलाडीसहित १८ सदस्यीय छ । प्रतियोगिता अगस्ट ३ देखि १० सम्म हरियाणाको मोरमाजरामा हुनेछ ।
खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उपकप्तान), मेनुका राजवंशी, रविना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सिर्जनाकुमारी थारु, सिर्जना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी छन् ।
प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् ।
प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिन प्रशिक्षणका साथै स्थानीय ५ क्लबसँग अभ्यास खेल खेल्ने छ ।
एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, नेदरल्यान्ड्स, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्डको सहभागिता हुनेछ ।
विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतकै पटनामा भएको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार बिदाइ गरे ।
सदस्य–सचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउँदै एसियाली प्रतियोगितामा पनि पदक जितेको महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रम चिर्न सफल भएको बताए ।
प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको बताउँदै पदक जित्नेमा आशावादी रहेको बताए ।
