तिरहुतलाई सप्तरी प्राइड लिग

श्रावण १, २०८२

विद्यानन्द राम

Saptari Pride League to Tirhut

राजविराज — सातौं संस्करणको मेयर कप सप्तरी प्राइड लिग क्रिकेटको उपाधि तिरहुत टाइगर्सले जितेको छ । पब्लिक विन्देश्वरी माविको मैदानमा बिहीबार फाइनलमा तिरहुतले राजविराज राजदेवी रोयललाई ९ विकेटले हराएको थियो ।

टस जितेको राजविराजले २० ओभरमा ९ विकेट गुमाई ९२ रन बनायो । रोहन बिकले २३, अभिषेक तिवारीले १९ र जितु यादवले अविजित १८ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तिरहुतका श्रवण यादवले ३ विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चे । चित्रबहादुर विष्ट र अनिल यादवले २–२, राहुल मण्डल र अजय यादवले १–१ विकेट लिए ।

९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा १ विकेट पूरा गर्‍यो । ओपनर भोला शाहले ४५ बलमा ५ चौका र ३ छक्कासहित अविजित ७९ रन बनाए । नीरज यादवले अविजित १८ र अभिनाश कर्णले १३ रन बनाए । राजविराजका नितेश यादवले १ विकेट लिए ।

राजविराज नगरपालिकाको सहयोगमा सप्तरी क्रिकेट संघले आयोजना गरेको लिगमा तिरहुतले २ लाख रुपैयाँसहित ट्रफी उचाल्यो । उपविजेता राजविराजले एक लाख पायो । उत्कृष्ट खेलाडी राजविराजका दिवान पुन चुनिए । उनले ४ खेलमा १ सय १ रन बनाउनुका साथै ६ विकेट लिए । उनलाई २५ हजार रुपैयाँ प्रदान गरियो ।

उत्कृष्ट ब्याटर तिरहुतका भोला शाह भए । उनले ४ खेलमा १ सय ३८ रन बनाए । उत्कृष्ट बलर ४ खेलमा १३ विकेट लिएका तिरहुतकै चित्रबहादुर विष्ट भए । दुवैलाई १५ हजार प्रदान गरियो । ८ दिन चलेको लिगमा ८ टिमले प्रतिस्पर्धा गरेको संघका सचिव चन्दनकुमार यादवले बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully