खेलकुद गुणात्मक सुधारको बाटोमा : मन्त्री चौधरी

असार ३२, २०८२

कान्तिपुर संवाददाता

On the road to qualitative improvement of sports: Minister Chaudhary

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल संघ/महासंघका पदाधिकारीसँग बुधबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारको बाटोमा गइरहेको बताए । उनले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा वृद्धिमा पहल गरिने आश्वासन दिए । उनले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुद अगाडि बढाउनुका साथै सुशासन, पारदर्शिता र सुदृढीकरणमा जोड दिनुपर्ने बताए ।

खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानुनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए । राखेप खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल संघका आर्थिक स्रोत, अन्तर्राष्ट्रिय संघ/महासंघबाट प्राप्त सहयोग, प्रायोजन, टिकट बिक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेटबारे कार्यपत्र पेस गरे ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यक्रममा सहभागीबाट निकै महत्त्वपूर्ण सुझाव आएको बताए । मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले समय समयमा यस्तो कार्यक्रम जरुरी भएको बताए । एकदिने कार्यक्रममा सहभागीले दसौं राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामग्री, अन्तर्राष्ट्रिय एक्सपोजर, लेखा परीक्षण, पेश्की, बेरुजु, प्रशिक्षणस्थल, बजेट, खेल सामग्रीलगायतका विषयमा आवाज उठाएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully