काठमान्डु गोर्खाजको प्रमुख प्रायोजकमा वर्ल्ड लिंक

असार ३१, २०८२

कान्तिपुर संवाददाता

World Link is the main sponsor of Kathmandu Gorkhaz

काठमाडौँ — काठमान्डु गोर्खाजले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि वर्ल्ड लिंकसँग प्रमुख प्रायोजक रूपमा सम्झौता गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्व रहेको काठमान्डु गोर्खाजका अनुसार एनपीएलमा अब टोली जर्सीमा वर्ल्ड लिंकको लोगो अगाडि राखेर खेल्ने छ । 

काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र वर्ल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताको आर्थिक पाटो भने खुलाइएको छैन । काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले आर्थिकभन्दा पनि वर्ल्ड लिंक जस्तो ठूलो संस्था एनपीएल र नेपाली क्रिकेटसँग जोडिनु ठूलो भएको बताए । 

‘काठमान्डु गोर्खाजले एनपीएलका लागि तयारी तीव्र गतिमा गरिरहेको छ, प्रतियोगिताको मिति नजिकै गर्दा हामी ठूला कम्पनीहरूसँग जोडिँदै गएका छौं,’ सिरोहियाले भने, ‘वर्ल्ड लिंक नेपाली बजारमा ठूलो कम्पनी हो, काठमान्डु गोर्खाज हुँदै एनपीएलमा जोडिएसँगै यसको दायरा अझ फराकिलो हुनेमा हामी विश्वस्त छौं । वर्ल्ड लिंकको साथमा हामी पनि ठूलो लक्ष्यतर्फ अगाडि बढिरहेका छौं ।’

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो सिजन नोभेम्बर–डिसेम्बर हुने तयारी गरिरहँदा काठमान्डु गोर्खाजले यसअघि नै नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरिसकेको छ । साथै टोलीले हस्पिटालिटी पार्टनरको रूपमा रोयल टुलिप होटल काठमाडौंसँग सम्झौता गरिसकेको छ । 

वर्ल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले अहिलेको अवस्थामा कुनै पनि कर्पोरेट हाउस नेपाली क्रिकेटबाट बाहिर बस्न नसक्ने जनाए । ‘नेपाली क्रिकेटको लोकप्रियता दिन प्रतिदिन माथि गइरहेको छ, यसमा सबै उमेर क्षेत्रका मानिसको चासो छ,’ अग्रवालले भने, ‘त्यही भएर हामी पनि नेपाली क्रिकेटसँग जोडिन चाहन्थ्यौं, त्यसैले काठमान्डु गुर्खाजलाई यस अवसरमा धन्यबाद दिन चाहन्छौं ।’

गोर्खाजले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully