राजविराज — सातौं राजविराज मेयर कप सप्तरी प्राइड लिग क्रिकेट प्रतियोगितामा खडक वारियर्स र कञ्चनरुप राइनोज सेमिफाइनलमा पुगेका छन् । मंगलबार कञ्चनरुपले हनुमाननगर हिरोजलाई ४ विकेट र खडकले रोयल च्यालेन्जर्स बरही वीरपुरलाई ८ विकेटले हराए ।
पब्लिक विन्देश्वरी माविको मैदानमा कञ्चनरुपले ३८ रनको सामान्य लक्ष्य ८.४ ओभरमा ६ विकेटमै पूरा गर्यो । महानन्द यादवले २ चौका र एक छक्कासहित सर्वाधिक १४ रन बनाए । राकेश कामतले ८, रौनक सिंहले ६ र रिराज साहले ५ रन जोडे । हनुमाननगरका सञ्जन बैठाले सर्वाधिक ३, गोमानन्द अमात्यले २ र सञ्जिव मण्डलले १ विकेट लिए ।
त्यसअघि टस जितेको हनुमाननगरले १०.३ ओभरमा अलआउट हुँदा ३७ रन बनाएको थियो । कञ्चनरुपका शम्भु मण्डल र अभिमन्यू सरदारले ४–४ विकेट लिए । प्लेयर अफ द म्याच शम्भुले ४ ओभरमा २२ रन खर्चे भने सरदारले ३ ओभरमा ९ रनमात्र खर्चे ।
दोस्रो खेलमा बरही वीरपुरले दिएको १ सय २२ रनको लक्ष्य खडकले १६ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सन्तोष कार्कीले ६३ र ओपनर फिर्दोष अन्सारीले ४३ रन बनाए । दुवै नटआउट रहे । वीरपुरका राहुल बिकले १ विकेट लिए । त्यसअघि टस जितेको वीरपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । भीम यादवले सर्वाधिक २५, तृतराज दासले २२, राहुल विकले १५ र अमित यादवले १४ रन बनाए । खडकका फिर्दोष अन्सारी, अभिषेक कार्की र अनिल यादवले २–२ विकेट लिए ।
यसअघि राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स सेमिफाइनल पुगिसकेको आयोजक सप्तरी जिल्ला क्रिकेट संघले जनाएको छ । विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार गर्नेछन् । फाइनल साउन १ मा छ ।
