चीनले दियो ८५ लाखबराबरको खेल सामग्री

असार ३१, २०८२

कान्तिपुर संवाददाता

China gave 85 million worth of game materials

काठमाडौँ — चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।

चिनियाँ राजदूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले मंगलबार राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँबराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।

राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सदस्य–सचिव घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै हरेक वर्ष सहयोगले निरन्तरता पाउने अपेक्षा व्यक्त गरे ।

China gave 85 million worth of game materialsसदस्य–सचिवले २० औं एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले यो समय पेचिलो भएको बताउँदै दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने र त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षण अगाडि बढाइने बताए ।

डेपुटी चिफ दी मिसन वाङले सहयोगले नेपाली खेलकुदको विकास थोरै भए पनि टेवा पुग्ने र विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गराए । युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।

मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति सामग्री हस्तान्तरण गरिएको थियो ।

कान्तिपुर

Link copied successfully