काठमाडौँ — विश्व नम्बर १ खेलाडी यानिक सिनरले आइतबार आफ्नो खेल जीवनको पहिलो विम्बल्डन उपाधि जितेका छन् । उनले यो उपलब्धिका लागि आफ्ना सबैभन्दा ठूला प्रतिद्वन्द्वी कार्लोस अल्कारेजलाई पराजित गरेका हुन् ।
अल इंग्ल्यान्ड क्लबमा भएको फाइनलमा इटालीका सिनर ४–६, ६–४, ६–४ र ६–४ ले विजयी रहे । यससँगै उनले ३५ दिन अगाडि मात्रै फ्रेन्च ओपन फाइनलमा अल्कारेजसँग बेहोरेको हारको बदला पनि लिएका छन् ।
यो वर्षको सुरुमा तीन महिनाको डोपिङ प्रतिबन्ध बेहोरेका सिनरले जितेको यो चौथो ग्रान्ड स्लाम उपाधि हो । उनको सदृढ प्रदर्शनले अल्कारेजको २४ खेलका जित यात्रामा पनि पूर्ण विराम लागेको छ ।
