विश्वकप छनोटको प्रारम्भिक टोलीमा आदिल

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Adil in preliminary squad for World Cup Qualifiers

काठमाडौँ — आदिल अन्सारीलाई समावेश गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार ओमानमा हुने ट्वान्टी–२० विश्वकप एसिया एवं एसिया–प्यासिफिक छनोटका लागि ३२ सदस्यीय टोलीको घोषणा गरेको छ । विश्वकप छनोट अक्टोबर ८ देखि १७ सम्म हुनेछ । 

तीन वर्षअघि भएको नेपाल ट्वान्टी–२० लिगमा नेपाली राष्ट्रिय टोलीका सदस्य पनि रहेका आदिललाई स्पट फिक्सिङको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतले २०८० चैतमा उनलाई सफाइ दिएको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट ‘क्लियर’ नभएका कारण उनले कुनै पनि संरचनाको क्रिकेटमा खेल्न पाएका थिएनन् ।

वैशाख २१ मा क्यानले उनीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जनाएपछि आदिल पहिलो पटक राष्ट्रिय टोलीको संरचनामा फर्किएका हुन् । स्पट फिक्सिङको आरोप लागेयता उनले कुनै घरेलु क्रिकेट खेलेका थिएनन् । गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकप खेलेको नेपाली टोलीका सदस्य अविनाश बोहरालाई विश्वकप छनोट टोलीमा राखिएको छैन । 

घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, आसिफ शेख, लोकेश बम, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, सन्दीप लामिछाने, प्रतिश जीसी, ललित राजवंशी, गुलशन झा, रूपेश सिंह, बसिर अहमद, शाहब आलम, युवराज खत्री, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विवेक यादव, आदिल, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, शुभ कंसाकार, अर्जुन घर्ती, कमलसिंह ऐरी रहेका छन् । 

कान्तिपुर

Link copied successfully