नेपालगन्ज — नेपालमा राति आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ ।
संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो । यो आबद्धतासँगै नेपालगन्ज नेपालकै पहिलो सहर बनेको छ, जहाँ एम्सद्वारा मान्यता प्राप्त दुई इभेन्टहरू धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज नाइट रन हुनेछन् । नेपालगन्ज म्याराथनको रुटलाई नेपालमै सबैभन्दा सरल मानिन्छ । एम्स सदस्यता प्राप्त भएपछि यी दौडहरू एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुनेछन्, जसले सहरको अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउनेछ ।
नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरी भन्छन्, ‘यसले सहरको ब्रान्डिङमा सहयोग गर्छ र विदेशी सहभागीहरूलाई अपडेट गराउँछ ।’ नेपालगन्ज म्याराथनअन्तर्गत काठमाडौं २५ के हेरिटेज रन, कर्णाली हाफ म्याराथन र गौघाट ग्रिन रनजस्ता दौडहरू पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन् ।
ठकुरीका अनुसार यी दौडहरूलाई पनि क्रमशः एम्स मान्यता दिलाउने तयारी भइरहेको छ । गत महिना काठमाडौंमा आयोजित ‘काठमाडौं २५ के हेरिटेज रेस’ र ‘नेपाल इन्टरनेसनल रनिङ कन्फरेन्स’ का अवसरमा एम्सको बोर्ड बैठकसमेत सम्पन्न भएको थियो । उक्त भ्रमणकै क्रममा एम्स अध्यक्ष तथा स्पेनका नागरिक पाको बोराओ ले नेपालगन्ज म्याराथनको रुट पनि अवलोकन गरेका थिए ।
