एकोहोरो जितसँगै स्वाटिक विम्बल्डन च्याम्पियन

असार २८, २०८२

एएफपी

Swatik Wimbledon champion with one win

लन्डन — पोल्यान्डकी इगा स्वाटिकले शनिबार अमेरिकी प्रतिद्वन्द्वी अमान्डा एनिसिमोभालाई एकोहोरो ढंगले ६–० र ६–० ले परातिज गर्दै विम्बल्डनको महिला एकलको उपाधि जितेकी छन् । पहिलो पटक विम्बल्डन जित्ने क्रममा २४ वर्षीया खेलाडी एनिसिमोभामाथि निर्दयी रहिन् र उपाधिका लागि कोर्टमा ५७ मिनेट मात्र खर्चिन् । 

स्वाटिक विम्बल्डनको एकल उपाधि जित्ने पहिलो पोल्यान्डकी पहिलो खेलाडी बनिन् । स्वाटिक पहिलो पटक अल इंग्ल्यान्ड क्लबमा फाइनल खेलिरहेकी थिइन् । समग्रमा भने यो उनको छैटौं ग्रान्ड स्लाम उपाधि रह्यो । 

‘आजको यो जित साँच्चै अविश्वसनीय नै रह्यो । इमानदारितापूर्वक भन्ने हो भने मैले यस्तो पनि जित हुन्छ भनेर सपनामा पनि कल्पना गर्न सक्दिनँ । मलाई लाग्छ, कसैले पनि विम्बल्डनको उपाधि यसरी जित्न सकिन्न,’ आश्चर्य प्रकट गर्दै स्वाटिकले भनिन् । 

उनले थपिन्, ‘मलाई लाग्छ, यसपल्ट अनुभवले पनि काम गरेको छ । मसँग यसअघि पनि ग्रान्ड स्लाम जितेको अनुभव छ । तर पनि फाइनलमा यस्तो जित अपेक्षित हुन्न ।’ वरीयताको आठौं क्रममा रहेकी स्वाटिकले फाइनलमा आफ्नो अनुभव पूर्णतः प्रयोग गरिन् र कुनै पनि बेला दबाब महसुस गरिनन् । विम्बल्डनको इतिहासमा सन् १९११ यता केही पनि खेलाडीले फाइनल कुनै पनि ‘गेम’ नगुमाएर जितेको यो नै पहिलो पटक हो । 

ग्रान्ड स्लामका फाइनलमा प्रवेश गरेयता उनी प्रत्येकपल्ट च्याम्पियन रहेकी छन् । यसअघिका उनका पाँचै ग्रान्ड स्लाम उपाधि क्ले र हार्ड कोर्टमा रहेको छ । उनले पहिलो सेट २५ मिनेटमै जितेकी थिइन् । दोस्रो सेट भने केही लामो चलेको थियो । स्वाटिकले थपिन्, ‘आजको खेलको नतिजाजस्तै रहे पनि अमान्डालाई धेरे धेरै बधाई । निश्चित छ, आउँदा दिनमा हामीबीचको प्रतिद्वन्द्विता चलिरहनेछ ।’  

स्वाटिकको थप प्रतिक्रया थियो, ‘यो प्रतियोगिता मेरो लागि विशेष रहेको छ, त्यसैले यो जित पनि विशेष रह्यो । सेन्ट्रल कोर्टमा खेल्नुको मज्जा नै बेग्लै छ ।’ नयाँ विम्बल्न च्याम्पियनभन्दा तीन महिनाले कान्छी एनिसिमोभा खेलको सुरुदेखि नै आत्तिएर डर मान्दै खेलेकी थिइन् । पूरा खेलमा ९ ‘प्वाइन्ट’ मात्रै जितेकी उनले एकपछि अर्को भुल शृंखलाबद्ध रूपमा गरिरहिन् । 

सेन्ट्रल कोर्टमा रहेका दर्शकले उनको खेल उकास्न मद्दत गर्ने प्रयास गरे पनि आफूलाई सम्हाल्न सकिनन् । एनिसिमोभाको प्रदर्शनको विशेषता भन्नु नै २८ ‘अनफोर्ड इरर’ र पाँच ‘डबल फल्ट’ रह्यो । हारपछि उनी स्वाभाविक रूपमा भावविह्वल रहिन् र कोर्टमा आफूलाई सम्हाल्न पनि असफल रहिन् । उनले रुदै भनिन्, ‘आजको फाइनल असाध्यै सम्झनालायक रह्यो तर मैले केही पनि गर्न सकिनँ ।’ 

‘मभित्र संघर्ष गर्ने केही पनि अंश बाँकी रहेन । मलाई लाग्छ, सायद मैले योभन्दा राम्रो खेल्न सक्थें होला । तर पनि पछिल्लो दुई साता मेरा लागि निकै उत्साहनजनक रह्यो । फाइनलसम्मको यात्रा तय गर्न मलाई जतिले सहयोग र समर्थन गरे, ती सबैलाई धन्यवाद छ । उनीहरूको मद्दतबिना म यहाँसम्म पुग्न सक्ने थिइनँ होला । मेरो परिवार मेरो लागि प्रेरणा रहेको छ,’ उनले थपिन् । 

पुरुषतर्फ आइतबार कार्लोस अल्काराज र जेनिक सिनरबीच फाइनल हुनेछ । विश्व नम्बर एक सिनरले शुक्रबार ७ पटकका विजेता नोभाक जोकोभिजलाई ६–३, ६–३, ६–४ ले पराजित गरेका थिए । यसअघि अल्काराजले पाँचौं वरीयताका टेलर फ्रिट्जलाई पराजित गरेका थिए । 

एएफपी

Link copied successfully