काठमाडौँ — नेपाल भलिबल संघ (एनभीए) ले माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिग खेल्ने जाने नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई बिदाइ गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, सदस्य जगतसिंह धामी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंहले बिदाइ गरे ।
हेल्प नेपालले पोखरामा भएको एनभीए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको थियो । काभा मेन्स च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान, कीर्गिस्तानको च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ । च्याम्पियन्स लिग यही जुलाई १७ देखि २३ तारिखसम्म माल्दिभ्सको मालेमा हुनेछ ।
हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक, एपीएफबाट विनोदबहादुर चन्दलगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । दुई पाकिस्तानी खेलाडी पनि समावेश गरेको छ ।
नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपाल स्पोर्टस् क्लबले क्लबको मात्र नभई समग्र नेपाली र नेपालीको प्रतिनिधित्व गर्ने बताए । हेल्प नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने अपेक्षा रहेको उनले बताए ।
हेल्प नेपाल स्पोर्टस् क्लबका टोली : सुवास कुँवर (कप्तान), विष्णुबहादुर क्षेत्री, सफल विक, चिरञ्जीवी खड्का, विनोदबहादुर चन्द, यामबहादुर भण्डारी, मनीष मानन्धर, सन्तोष राई, रविन चन्द, रविन नगरकोटी, उस्मान, मोहम्मद आसिफ नाभिद, उत्सव खड्का (प्रशिक्षक), सुजन केसी (सहायक प्रशिक्षक), राजनकुमार उपाध्याय (सहायक प्रशिक्षक) ।
