नेपाली प्रशिक्षकमा पनि के आदत छ भने आफू खेलाडी छँदा विदेशी राम्रो भन्ने, पछि आफैं प्रशिक्षक हुँदा नेपाली पनि कम्तीका छैनन् भन्ने
काठमाडौँ — खेलाडीलाई बस्न राम्रो होटल चाहिन्छ । प्रशिक्षणका बेला जीपीएस चाहिन्छ । ट्रेनिङमा क्यामेरा पनि चाहिन्छ । त्यसलाई विश्लेषण गर्न सक्ने जनशक्ति पनि चाहिन्छ । समग्रमा भन्दा कुनै ठूलो प्रतियोगिताको तयारी गर्ने हो भने, सक्दो सुविधा उपलब्ध गराउनुपर्छ ।
के यसमा पनि द्विविधा र विवाद छ ? छैन नै । एएफसी वुमेन्स एसियन कप छनोट खेलेको नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले मागेका यस्तै त थिए । तर भइदियो द्विविधा र विवाद मात्र होइन, चर्को आलोचना पनि ।
वर्षौंको बेवास्ता र प्राथमिकतामा नपरेको नेपाली महिला फुटबलमा पछिल्लो समय केही राम्रो भएको छ । विशेषतः महिला लिगमा छनोटदेखि प्ले–अफसम्मका खेल भए । गत वर्ष महिला फुटबलमा यति धेरै खेल भयो कि त्यसअगाडि त्यो कल्पना मात्रै थियो ।
त्यस अर्थमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जस पनि दिनुपर्छ । उज्वेकिस्तानको तासकेन्दमा भएको छनोटमा नेपाली टिमको उम्दा प्रदर्शन यसकै कारणले हो । एन्फाले चाँडै अझ बृहत् रूपमा महिला लिगको छनोट गर्दै छ, आशा धेरै छन् ।
यति भन्दाभन्दै एन्फाले एउटा यस्तो काम पनि गरेको छ, जसलाई सर्वथा अनावश्यक र अतिरञ्जित भन्न सकिन्छ र त्यसको जति आलोचना गरे पनि पुग्दैन । र, यो हो– तिनै डे वाइल्डले जेजति भने त्यसको जवाफ फर्काउने काम । छनोटका खेल सकिएलगत्तै मुख्य प्रशिक्षक नेपाल फर्केनन्, उतैबाट आफ्नो घर बेल्जियम लागे । त्यसअगाडि उनले नेपाली फुटबलको माहौल नै तताउने गरेर एउटा अन्तर्वार्ता भने कान्तिपुरलाई दिए । त्यो अन्तर्वार्ताले नेपाली फुटबल बहसकै विषय बन्यो, नेपाली फुटबललाई लिएर मतमतान्तर देखिए ।
खासमा डे वाइल्डले त्यस्तो केही नयाँ भनेका छैनन्, जुन यसअघिका प्रशिक्षकले भनेका थिए । धेरै लामो होइन, पछिल्लो एक दशकमा जति पनि स्वदेशी होस् अथवा विदेशी प्रशिक्षकले पुरुष अथवा महिला राष्ट्रिय टिम सम्हाले, तिनीहरूले औपचारिक होस् अथवा अनौपचारिक रूपमा होस् भनेकै छन्– यस्तै ढंगले नेपाली फुटबल अगाडि बढ्दैन । नेपाली फुटबलको अहिलेको ढाँचा परिवर्तन गर्ने होइन भने यसले ठोस रूपमा कहिल्यै पनि प्रगति गर्न सक्दैन, बरु उल्टै पछाडि पर्दै मात्र जानेछ ।
लामै समय एउटैले काम गर्ने गरेर नेपाली फुटबलका लागि प्राविधिक निर्देशक चाहिन्छ, दीर्घकालीन योजना चाहिन्छ, ग्रास रुट लेभलदेखि नै काम गर्नुपर्छ, यसमा पनि कसको मात्र विमति र विरोध हुन सक्छ र ? डे वाइल्डले भनेको पनि त यही हो । तर एन्फालाई यसमा उत्तर दिन हतार भयो र नेपाली महिला राष्ट्रिय टिमसँग आबद्ध गएर तासकेन्द गएकाले त्यसको उत्तर पत्रकार सम्मेलनमार्फत दिने प्रयास गरे । यसको अर्थ के रह्यो भने, नेपाली फुटबल अहिले जस्तो छ, त्यस्तै ठीक छ, यसमा सुधार आवश्यक छैन, बरू पुरानो लथालिंग पाराले चलेकै राम्रो ।
एन्फा र ती पदाधिकारीले डे वाइल्डलाई यसरी उत्तर फर्काउनुभन्दा अबको नेपाली महिला फुटबलको उद्देश्य र गन्तव्य के हो ? यसको विकास र विस्तारका लागि के काम गर्नुपर्ने हो, त्यसमै लाग्नुपर्ने थियो । अबको एक वर्षपछि हुने एसिया कपमा छनोट नहुनको अर्थ हाम्रो नेपाली महिला फुटबलका लागि विश्वकप र ओलम्पिकको बाटो पनि बन्द भएको छ । यसको नकारात्मक असर हुन सक्छ । यस्तै दक्षिण एसियाका हाम्रो दुई प्रतिद्वन्द्वी देश बंगलादेश र भारतले एसिया कपमा छनोट भएर ठूलै छलाङ मार्न सक्छन् ।
फेरि यो हाम्रो पहुँचभन्दा बाहिरको हुन सक्छ । एन्फाले चिन्ता गर्नुपर्ने त्यसमै हो । फुटबलको प्राविधिक पक्षमा हामी साँच्चै पछाडि छौं, यो तथ्यलाई पनि हामीले स्विकार्नु नै पर्छ । डे वाइल्डले आफ्ना सहायक कम्प्युटर खोल्न पनि नआउने भन्नुको अर्थ ठ्याक्कै कम्प्युटर नै खोल्न नआउने भनेको त होइन होला । यससँग जोडिएका काम गर्न कमजोर भएको भन्ने नै यसको आशय हो । नेपाली फुटबलमा लामै समय प्रशिक्षक उत्पादनको कामै भएन । पछिल्ला केही वर्षमा यसतर्फ राम्रो प्रगति भएको छ ।
तर हामीसँग अझै प्रो–लाइसेन्स भएका हाम्रा आफ्नै प्रशिक्षक छैनन् । लामै समयदेखि यसबारे बहस पनि भएको छ तर यस्ता उम्दा प्रशिक्षक निकाल्ने काम अगाडि बढेको नै छैन । आजभोलि एउटा फुटबल टिममा अनेक विशेषज्ञ चाहिन्छ । प्रशिक्षक नै थरीथरीका हुने गर्छन् । खेलाडीको प्रदर्शन नाप्ने अनेक विधि छन् । यसमा जाँच हुनै पर्छ । फिट कसरी रहने, के खानेदेखि लिएर कसरी सामाजिक सञ्जाल चलाउने हो, त्यतिसम्मका विशेषज्ञ चाहिन्छ । तर नेपाली फुटबलले त्यसतर्फ ध्यान दिन सकेको छैन ।
जति पनि खेलाडी तासकेन्द गए, त्यसमध्ये अधिकांश अनौपचारिक रूपमै सही डे वाइल्डको प्रशिक्षण दिने शैलीलाई राम्रो मानेका छन् । ती खेलाडीको निचोड हो– नेपालका आफ्नै प्रशिक्षकभन्दा विदेशबाट आएका यस्ता प्रो–लाइसेन्स हुनेहरू एक पाइला अगाडि हुन्छन् । विश्व फुटबलले त्यसै पनि राष्ट्रिय टिमका लागि कम्तीमा यति योग्यता भएका प्रशिक्षक चाहिन्छ भनेको त्यसै होइन । फेरि नेपाली प्रशिक्षकमा एउटा के पनि रोग छ भने आफू खेलाडी छँदा विदेशी राम्रो भन्ने, पछि आफैं प्रशिक्षक हुँदा नेपाली पनि कम्तीका छैनन् भन्ने बानी छ ।
पछिल्लो साफ च्याम्पियनसिपको फाइनलमा नेपाल दशरथ रंगशालामै बंगलादेशबाट पराजित रह्यो । त्यति बेलाका प्रशिक्षक राजेन्द्र तामाङले पनि प्रतियोगिताको समाप्तिमा आफ्नो पदबाट मात्र राजीनामा दिएनन्, नेपाली मिडियासामु अहिले जसरी नेपाली महिला फुटबल अगाडि बढिरहेको छ, त्यो पर्याप्त छैन भनेकै थिए । अझ उनले त एक पुस्ताका खेलाडीलाई संन्यास लिनुपर्छ र नयाँ पुस्ता तयार पार्नुपर्छ पनि भने । उनले अलिकति लुकाएर विस्तारै भने, डे वाइल्डले अलिकति खुलेर आलोचना गरेर भने ।
हो, एउटा तथ्यमा भने डे वाइल्डको आलोचना गर्नुपर्छ र त्यो हो– उनले जसरी कप्तान कसलाई बनाउने भन्नेलाई विवादको विषय बनाए । कप्तान कसलाई बनाउने हो, त्यसको निर्णय प्रशिक्षकले नै गर्ने हो । तर यस क्रममा उनले यसलाई विवाद विषय बनाउन हुन्न थियो । जसरी सावित्रा भण्डारी कप्तान भए र जसरी एन्जिला सुब्बाबाट नेतृत्व मात्र होइन, पहिलो रोजाइका खेलाडीको हैसियत पनि गुम्यो, त्यो सह्य छैन । एन्जिलाले नेपाली फुटबलमा ठूलै योगदान दिएकी छन् र उनको कप्तानीबाट बाहिरिने बाटो सहज र सम्मानजनक हुनै पर्छ ।
फेरि सावित्रा कप्तान हुनलायक छैनन् भनेर कसले भन्न सक्छ र ? तर सम्भवतः उनी आफैं पनि खुसी छैनन् होला, जसरी उनको हातमा आर्म–ब्यान्ड आयो भनेर । त्यसैले तासकेन्द बसाइका क्रममा टिममा देखिएको विवाद र अन्योलतामा डे वाइल्ड पनि जिम्मेवार छन् । यो एउटा तथ्यलाई छाडेर भन्ने हो भने डे वाइल्ड नेपाली महिला फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा राम्रा प्रशिक्षक हुन्, त्यसमा पनि द्विविधा छैन । हामीलाई चाहिने भनेकै यत्तिको प्रशिक्षक हो, न त उनीभन्दा कम र काम चलाउ प्रशिक्षक ।
एन्फा र नेपाली फुटबलले तिनै डे वाइल्डलाई दिनुपर्ने उत्तर भने खासमा यो हो । सबैभन्दा महिला फुटबलको गन्तव्य के हो त ? यसका लागि दीर्घकालीन योजना के कस्तो चाहिन्छ ? बढीभन्दा बढी राम्रा खेलाडी कसरी उत्पादन गर्ने ? घरेलु र अन्तर्राष्ट्रिय महिला फुटबललाई कस्तो रूप दिने ? अनि हामीले अहिलेसम्म जित्न नसकेको साफ च्याम्पियनसिप जित्न के गर्ने ? त्यसबारे गम्भीर छलफल र बहस । छलफलमै मात्र सीमित नरहेर व्यवस्थित काम पनि गर्ने । यति गर्नलाई डे वाइल्डको आलोचना गर्न पत्रकार सम्मेलन पनि गरिरहनु पर्दैनथ्यो ।
एउटा तथ्य के राम्रोसँग बुझौँ भने, अलिकति राम्रोसँग काम मात्र गर्नुपर्छ, नेपाली महिला फुटबलको सम्भावना साँच्चै धेरै राम्रो छ । डे वाइल्डले पनि भनेका छन्– नेपाली महिला फुटबल खेलाडीको जति प्रशंसा गरे पनि पुग्दैन । उनले आफ्नो प्रशिक्षक जीवनमा धेरै ठाउँमा धेरै काम गरे तर अहिलेको नेपाली महिला टिम जत्तिको राम्रो उनलाई अरू लागेन । अहिलेका टिमलाई साँच्चै ‘गोल्डेन जेनेरेसन’ भन्दा हुन्छ । यत्तिको टिमलाई अबका वर्षमा कायम राख्नु र नयाँ पुस्ता तयार पार्ने चुनौती हो । यसका लागि गर्नुपर्ने भनेको पनि कामै त हो ।
