एनपीएल राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस् : प्रधानमन्त्री ओली

‘राजनीतिक दल सरकारमा आउाछन्, तर सरकारमा आएर राजनीति गर्ने होइन, जुन क्षेत्र हो त्यही काम गर्ने हो, खेलको विकास गर्ने हो भने लगानी गर्ने र खेललाई अगाडि बढाउने हो, राजनीतिका लागि कुनै स्थान छैन’

असार २७, २०८२

कान्तिपुर संवाददाता

NPL is national pride, make great preparations: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ फेसबुकमा छोटो समय अन्तरमा दुईवटा पोस्ट गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) ले निरन्तरता पाउने जनाएका छन् । उनले लेखेका छन्, ‘एनपीएल रोकिनु हुँदैन ।’ अर्को पोस्टमा ‘एनपीएल हाम्रो राष्ट्रिय गौरव, भव्य तयारी गर्नुस्’ लेखेका छन् ।

गत डिसेम्बरमा एनपीएल–१ आयोजना भएको थियो । पहिलो संस्करणलगत्तै यसको आर्थिक पारर्शितालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अख्तियारबाट आवश्यक कारबाहीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पुगेको थियो, जसको छानबिन गर्न राखेपले एउटा कार्यदल बनाएको छ । 

यसअघि नै बनेको कार्यदललाई हटाउँदै राखेपका अध्यक्षसमेत रहेका खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनमा बनेको अर्को छानबिन कार्यदलले यसअघि पठाइएका प्रश्नको जबाफ चित्तबुझ्दो नआएकाले ‘छानबिन कार्य सम्पन्न नहुँदासम्म एनपीएल सम्बन्धी कुनै कार्य नगर्नु नगराउनु हुन समेत जानकारी गराइन्छ’ भनेर पत्राचार गरेको थियो । आफ्नो कार्यक्षेत्र बाहिर गएर पठाइएको यस पत्रका कारण खेलकुदमन्त्री चौधरीको चौतर्फी आलोचना भइरहेको थियो ।

प्रधानमन्त्री ओली बिहीबार राष्ट्रिय खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाइपर्फोमेन्स सेन्टरको उद्घाटन गर्न सातदोबाटो पुगेका थिए । त्यहाँ नै उनले एनपीएललाई लिएर गरिएको व्यवहारमा थप राजनीति नगर्न भनेका थिए । 

‘एनपीएलको भव्य तयारी गर्नुस, एनपीएल भनेको हाम्रो राष्ट्रिय गौरव हो । यो गौरवलाई हामीले कायम राख्नुपर्दछ । राष्ट्रिय स्तरमा क्रिकेट जसरी अगाडि बढ्दै गएको छ, त्यसलाई अझ बढी जोड दिँदै आकर्षण बनाउनुपर्नेछ । एनपीएल खेलिनुपर्दछ । यसमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल क्रिकेट संघ सबैको ध्यान जाओस् भन्ने म आग्रह गर्दछु,’ ओलीले भनेका थिए । 

सरकारमा जानु अगाडि राजनीति गर्नुपर्ने तर्क राख्दै ओलीले भनेका थिए, ‘सरकारमा राजनीतिक पार्टी नै आउँछ, तर राजनीतिक पार्टी सरकारमा आएपछि राजनीति गर्ने होइन । सरकारमा आएपछि जुन क्षेत्रमा काम छ, त्यही क्षेत्रको काम गर्ने हो । कृषिको विकास गर्ने हो भने कृषिको विकास गर्नुपर्छ । उद्योगमा विकास गर्नु छ भने उद्योगको विकास गर्नुपर्छ । संगीतको, साहित्यको विकास गर्ने हो भने त्यही क्षेत्रको काम गर्नुपर्छ । त्यहाँ राजनीति गर्ने होइन । खेलको विकास गर्ने हो भने खेलमा लगानी गर्नुपर्छ र खेललाई अगाडि बढाउनुपर्छ । त्यहाँ राजनीति गर्ने होइन । राजनीतिका लागि कुनै स्थान छैन ।’ 

प्रधानमन्त्री ओली त्यही रोकिएनन् । सामाजिक सञ्जालमा पनि एनपीएललाई लिएर थप पोस्ट गर्न पुगे । उनले पटक–पटक रोकिँदै आएको १० औं राष्ट्रिय खेलकुदलाई लिएर पनि राखेप र मन्त्रालयलाई चेतावनी दिए । ‘राष्ट्रिय खेलकुद मंसिरमै हुनुपर्छ, अब पनि सार्नु भनेको लज्जाको विषय हुनेछ । त्यसमा कुनै माफ हुने छैन । त्यो हुनै सक्दैन । अब समय सारिन्न । तोकिएको समयमा राष्ट्रिय खेलकुद आयोजना हुनेछ,’ ओलीले भनेका छन् ।

कान्तिपुर

Link copied successfully