एसीसी यू-१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

असार २७, २०८२

दुर्गालाल केसी

ACC U-16 Cup winning players and coaches honored

दाङ — लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यू-१६ इस्टर्न जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्ले प्रतिखेलाडी एक लाख र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । 

बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित एक कार्यक्रममार्फत प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लमही नगरपालिका–५, दाङ निवासी शुभम खनाल, कृष्णनगर कपिलवस्तु निवासी रौनक श्रीवास्तव र घोराही उपमहानगरपालिका निवासी प्रशिक्षक पुरणसिंह खत्रीलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका हुन् ।

खेलाडी खनाल र श्रीवास्तवले जनही एक लाख रुपैयाँ तथा प्रशिक्षक खत्रीले ५० हजार रुपैयाँ सम्मान स्वरूप प्राप्त गरेका छन् । सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरलगायतको उपस्थिति थियो ।

सदस्य सचिव गौतमले खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह थप्नका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए । उनले भने,`खेल क्षेत्रको विकासका लागि खेलाडीहरूमा उत्साह थपिन जरुरी छ । प्रदेश सरकारले सबै खेल क्षेत्रलाई समान दृष्टिकोणले सहयोगको हात बढाइरहेको छ ।प्रदेश सरकारले यसैगरी खेल क्षेत्रको विकासमा भूमिका बढाइरहेको छ ।´

सम्मान प्राप्त खेलाडी तथा प्रशिक्षकहरूले प्रदेश सरकारको यो कदमले आफूहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully