'कप्तानी विवादमा प्रशिक्षक दोषी'

असार २६, २०८२

कान्तिपुर संवाददाता

'Coach guilty in captaincy dispute'

काठमाडौँ — उज्वेकिस्तानको तास्केन्दमा भएको एएफसी वुमेन्स एसियन कप छनोट खेलेको नेपाली महिला राष्ट्रिय टोलीकी प्रमुख सरिला श्रेष्ठले कप्तानीलाई लिएर उठेको विवादमा मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड नै दोषी भएको दाबी गरेकी छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भनिन्, ‘प्रशिक्षकले गर्दा नै भद्रगोल भएको हो ।’

हेड अफ डेलिगेट्स रहेकी श्रेष्ठको दाबी थियो, ‘प्रशिक्षकले कप्तान को हुनेबारे अन्तिम समयसम्म पनि निर्णय नदिएपछि समस्या भएको हो ।’ उज्वेकिस्तान जानु अगाडि नै कप्तान छान्नुभन्दा पनि प्रशिक्षकले नमानेको श्रेष्ठको आरोप छ । यसअघि मुख्य प्रशिक्षक डे वाइल्डले कान्तिपुरसँगको अन्तर्वार्तामा एन्फा र यसको व्यवस्थापनबारे चर्को आलोचना गरेका थिए । 

प्रशिक्षकले त्यस क्रममा एन्फाले आफ्नो काम गर्ने प्रवृत्ति सुधार नगरे नेपाल नफर्कने पनि बताएका थिए । उनी तास्केन्दबाट नेपाल नआएर सिधै आफ्नो देश बेल्जियम फर्केका थिए । पत्रकार सम्मेलनमा एन्फाका प्राविधिक निर्देशक हरि खड्काले कप्तान छान्ने अधिकार पूर्णतः प्रशिक्षककै हुने भएता पनि त्यसका लागि फुटबल संघसँग पनि समन्वय गर्नुपर्ने जिकिर गरे । 

उनले भने, ‘कप्तान कसलाई बनाउने हो, त्यो प्रशिक्षकमा भरपर्छ । कोचको यो जिम्मेवारी पनि हो र तर यसका लागि संघसँग समन्वय पनि गर्नुपर्छ ।’ सुरुमा प्रशिक्षक डे वाइल्डले एन्फा र टिम व्यवस्थापनको आलोचना गर्नु र त्यसको जवाफमा त्यही टिमका पदाधिकारी उत्रिएपछि स्थिति भने अन्योलपूर्ण भएको छ ।

कान्तिपुर

Link copied successfully