फाइनल पुगेसँगै चेल्सी उत्साही

असार २६, २०८२

एएफपी

Chelsea excited as they reach the final

इस्ट रडरफोर्ड — चेल्सीका प्रशिक्षक इन्जो मारेस्काले आफ्नो टिमको क्लब विश्वकप फुटबल फाइनल यात्रा ठूलो उपलब्धि रहेको बताएका छन् । नयाँ अनुबन्धित खेलाडी जाओ पेड्रोले गरेको दुई गोलप्रेरित चेल्सीले बुधबार फ्लुमिनेजलाई २–० ले पराजित गर्दै क्लब विश्वको फाइनल तय गरेको हो । 

पेड्रोले चेल्सीका लागि पहिलो पटक सुरुदेखि खेल्न पाएका थिए । उनले त्यसको फाइदा उठाउँदै १८ औं मिनेटमा गोलको खाता खोलेका थिए । मेटलाइफ स्टेडियममा ब्राजिली स्ट्राइकरले खेलले एक घण्टा हुन लाग्दा दोस्रो गोल थपेका थिए । अब उपाधिको भिडन्तमा चेल्सीले रियल म्याड्रिड वा पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । 

‘फाइनल पुग्नु साँच्चै ठूलो उपलब्धि हो । हाम्रा लागि यो सिजन असाध्यै राम्रो भएको छ,’ प्रशिक्षकले मारेस्काले भने । उनले थपे, ‘हामी प्रिमियर लिगको शीर्ष चारमा रह्यौं । कन्फ्रेन्स लिग पनि जित्यौं । अहिले हामी क्लब वर्ल्डकपको फाइनल पनि पुग्यौं ।’ 

ब्राइटनबाट चेल्सी आएका २३ वर्षीय खेलाडीले पाल्मेरियासविरुद्धको क्वाटरफाइनलमा मात्र डेब्यु गरेका थिए । हारले प्रतियोगितामा फ्लुमिनेजको उत्कृष्ट यात्रामा पूर्णविराम लागेको छ । टोलीले सेमिफाइनलसम्म यात्रा गर्दा बोरुसिया डर्टमन्ड, इन्टर मिलान र अल–हिलाललाई पन्छाएको थियो । यससँगै प्रतियोगितामा दक्षिण अमेरिकी क्लबको चुनौती पनि सकिएको छ ।

एएफपी

Link copied successfully