शीर्ष वरीयताप्राप्त सबालेन्का अल इंग्ल्यान्ड क्लबमा लगातार तेस्रो वर्ष अन्तिम चारमा
लन्डन — विम्बल्डन टेनिसबाट बाहिरिने सूची नजिक पुगेकी विश्व नम्बर एक आर्यना सबालेन्काले मंगलबार साहसिक प्रदर्शन गरेकी छन् । उनी जर्मनीकी लाउरा सिगेमन्डमाथि गतिलो नतिजा निकाल्दै सेमिफाइनल पुगेकी छिन् । उनले ४–६, ६–२, ६–४ को जित निकालिन् ।
सेन्ट्रल कोर्टमा सबालेन्का अन्तिम सेटमा दुई पटक ब्रेकमा पछाडि परेकी थिइन् र प्रतियोगिताबाट बाहिरिन दुई खेलमात्र टाढा थिइन् । तर नाटकले भरिएको २ घन्टा ५४ मिनेटको खेलमा बाजी मार्दै पहिलो पटक विम्बल्डन उपाधितर्फ अगाडि बढेकी छन् ।
२७ वर्षीया उनी अल इंग्ल्यान्ड क्लबमा सेमिफाइनल पुगेको यो तेस्रो वर्ष हो । सन् २०२१ र २०२३ मा पनि सबालेन्का यही चरणबाटै बाहिरिएकी थिइन् । गत वर्ष यूएस ओपन जितेकी सबालेन्का यस वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको फाइनलमा पराजित भएकी थिइन् । मंगलबारको प्रदर्शनले उनी लगातार चौथो ग्रान्ड स्लाम फाइनल नजिक पुगेकी छन् ।
शीर्ष वरीयताप्राप्त बेलारुसकी सबालेन्काले फाइनलमा स्थान पाउन अमेरिकाकी १३ औं वरीयताकी अमान्डा अनिसिमोभा र रुसी विश्व नम्बर ५० अनास्टासिया पाभ्लुचेन्कोभाबीचको विजेतासँग खेल्ने छिन् । दुई सातामा स्तब्धपूर्ण नतिजाहरूपछि शीर्ष वरीयताका ६ महिला खेलाडीमा सबालेन्कामात्र बाँकी छन् । अन्य सबै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
तीन ग्रान्ड स्लाम च्याम्पियन सबालेन्का पनि झन्डै यही सूचीमा थपिएकी थिइन् । विश्व वरीयतामा १ सय ४ औं स्थानमा रहेकी सिगेमन्डले उनलाई कठिन चुनौती दिँदै आफूलाई नजिक पुर्याएकी थिइन् । ३७ वर्षीया सिगेमन्डले यसअघि नै तेस्रो चरणमा अस्ट्रेलियन ओपन च्याम्पियन म्याडिसन किजलाई पन्छाइसकेकी थिइन् ।
‘त्यो साँच्चैको परीक्षा थियो, अब मलाई शान्त हुन र रिकभरीका लागि केही समय चाहिन्छ,’ सबालेन्काले भने, ‘उनले मलाई चुनौती दिइरहिन् । पहिलो सेटपछि मैले आफ्नो बक्स हेर्दै टिकट निश्चित गरेर यस सुन्दर ठाउँ छोडेर जाने सोचाइ बनाइसकेको थिएँ । सिगेमन्डले यो प्रतियागितामा उत्कृष्ट खेल्दै आएकी छन्, आज पनि राम्रो खेलिन् । त्यही भएर म्याच र जितमा म निकै खुसी छु ।’
पुरुषतर्फ टेलर फ्रिट्ज सेमिफाइनल पुगेका छन् । टेक्नोलोजी सिस्टम पुनः एक पटक विवादित बनेको खेलमा फ्रिट्जले कारेन खाचानोभलाई ६–३, ६–४, १–६, ७–६ (७/४) ले पराजित गरे ।
स्विडिस अम्पायर लुइस अजेमार इन्जेलले चौथो सेटको पहिलो खेलमा एक अंकका क्रममा खेल रोक्न पुगेका थिए । फ्रिट्जको फोरह्यान्ड बेसलाइनभित्र रहे पनि उनले त्यसलाई ‘फल्ट’ भनेर गलत निर्णय दिन पुगेका थिए । प्रतियोगिता आयोजकले माफी माग्दै थप विवाद नआओस् भनेर त्यो सिस्टम नै परिवर्तन गरेका थिए ।
अमेरिकाका पाँचौं वरीयताका फ्रिट्जले रुसका १७ औं वरीयताका खाचानोभलाई पराजित गर्न ठूलै संघर्ष गर्नुपरेको थियो । गत वर्ष यूएस ओपन फाइनलमा पराजित फ्रिट्जले डिफेन्डिङ च्याम्पियन कार्लोस अल्काराज र ब्रिटेनका क्यामरन नोरीबीचको विजेतासँग खेल्ने छन् ।
