काठमाडौँ — नेपालले अस्ट्रेलियामा हुने टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा नर्थन टेरिटोरीसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ । अगस्ट १४ देखि २४ सम्म डार्बिनमा हुने प्रतियोगिताको चौथो संस्करणमा नेपालले आयोजक टोली नर्थन टेरिटोरीसँग अगस्ट १५ मा पहिलो खेल खेल्नेछ ।
नेपालले बंगलादेश ‘ए’ सँग अगस्ट १६ मा, मेलबर्न स्टार्ससँग अगस्ट १८ मा, होबर्ट हरिकेन्ससँग अगस्ट १९ मा, मेलबर्न रेनेगेड्ससँग अगस्ट २० मा र पाकिस्तान साहिन्ससँग अगस्ट २० मा खेल्ने छ ।
राउन्ड रोबिन लिगमा एकअर्काविरुद्ध खेलेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने छन् । बिग बासको सिजन सुरु हुनुअगाडि क्रिकेट अस्ट्रेलियाले मान्यता दिएको यो प्रतियोगिता सुरु हुने गर्दछ । बिग बासका टोलीहरूलाई यो स्पर्धा प्रि–सिजन तयारी जस्तो बनेको छ । नेपाली राष्ट्रिय टोली पहिलो पटक अस्ट्रेलिया गएर खेल्न लागेको हो ।
यो प्रतियोगिता सन् २०२२ देखि सुरु भएको हो । क्रिकेट अस्ट्रेलिया ११ ले पहिलो संस्करणमा मेलबर्न स्टार्स एकेडेमीलाई पराजित गरी पहिलो संस्करण विजेता बनेको थियो । २०२३ को फाइनलमा नर्थन टेरिटोरीले पाकिस्तान साहिन्सलाई ४६ रनले पराजित गरेको थियो । गत वर्ष एडिलेड स्ट्राइकर्स एकेडेमीले बंगलादेश एचपी ११ लाई ३२ रनले हराएर उपाधि जितेको थियो ।
