काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएको कारण १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको बताए। उनले प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको उल्लेख गर्दै प्रतियोगिता सञ्चालन गरिने बताए।
उनले भने, ‘गण्डकी प्रदेशको सुर्खेत र अन्य ठाउँमा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति तथा खेल सञ्चालन गर्न उपयुक्त मौसम नभएकोले सम्बन्धित सरोकारवालाहरूको सुझाव एवं जानकारीलाई दृष्टिगत गरी हाल १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको हो। हामीले उक्त प्रतियोगिताका लागि आगामी आर्थिक वर्षका लागि बजेट समेत छुट्याएको भएकाले आगामी वर्षमा प्रतियोगिता हुनेछ।’
देशभरका विभिन्न क्रिकेट रंगशालाको विकास र स्तरोन्नतिका लागि पनि सरकार गम्भीर रहेको उनले बताए। उनले खेलको वृहत्तर विकासका लागि भौतिक पूर्वाधार निर्माण, खेलाडीलाई प्रशिक्षण लगायतका कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको बताए ।
