लन्डन — नोभाक जोकोभिचले एलेक्स डी मिनौरलाई पन्छाउँदै १६ औं पटक विम्बल्डन टेनिसको क्वाटरफाइनलमा पुगेका छन् । आठ पटकका विजेता रोजर फेडेरर प्रत्यक्षदर्शी बनेको खेलमा सर्बियाका जोकोभिचले सोमबार अस्ट्रेलियाका मिनौरलाई १–६, ६–४, ६–४, ६–४ ले पराजित गरेका थिए ।
सेन्टर कोर्टमा ११ औं वरीयताका मिनौरसँग पहिलो सेटमा गुमाए पनि खेल उल्टाएका ७ पटकका विम्बल्डन च्याम्पियन जोकोभिच २५ औं ग्रान्ड स्लाम जिततर्फ अग्रसर भएका छन् । अल इंग्ल्यान्ड क्लबमा सफलता हात पारे उनले सर्वाधिक ८ पटक विम्बल्डन जित्ने फेडेररको कीर्तिमान बराबरी गर्नेछन् ।
सक्रिय खेलजीवनबाट संन्यास लिइसकेका स्विट्जरल्यान्डका हस्ती फेडेररले रोयल बक्सबाट खेल हेरिरहँदा उनका लामो समय नजिकको प्रतिद्वन्द्वी बनेका जोकोभिचले यसपटकको प्रतियोगितामा सबैभन्दा कठिन चुनौती पाएका थिए । पहिलो सेटमा पछाडि पर्नुका बावजुद छैटौं वरीयताका उनले दुई ब्रेक पनि गुमाए । उनले १६ अनावश्यक गल्ती गर्नुका साथै पहिलोमा चार डबल फल्ट पनि गरे ।
जोकोभिचले दोस्रो सेटको सुरुआतमै ब्रेक गरी १९ मिनेटमै उक्त सेट आफ्नो पक्षमा पारे । त्यसपछि उनले आफ्नो दबदबा कायम राख्दै खेल आफ्नो पक्षमा पारे । जोकोभिचले क्वाटरफाइनलमा २२ औं वरीयताका इटालीका फ्लाभिओ कोबोलीसँग खेल्ने छन् ।
