काठमाडौँ — नेपालको राष्ट्रिय खेल हो भलिबल । जुलाई ७, विश्व भलिबल दिवस । नेपाल भलिबल संघको सर्कुलरमा देशैभर भलिबल दिवस मनाइएको छ । विश्वमै पहिलो पटक आधिकारिक रूपमा भलिबल दिवस मनाउन लागेको हो ।
सन् १८९५ को जुलाई ७ मा विलियम जी मोर्गनले पहिलो पटक सार्वजनिक रूपमा भलिबल खेल डेमोस्ट्रेसन गरेको दिनलाई सम्झेर विश्वव्यापी उत्सव मनाउने फेडेरेसन इन्टरनेसनल भलिबल –फिब) ले निर्णय गरेको थियो ।
यस दिवसले विश्व भलिबल समुदायलाई उत्सवमा एकताबद्ध हुन मद्दत गर्नुका साथै कोर्टदेखि पार्क र खेल मैदानसम्म, खेलाडीहरू र प्रशंसकहरूलाई भलिबलले कसरी प्रेरित, एकताबद्ध र सशक्त बनाउँछ भनेर प्रदर्शन गर्न प्रोत्साहित गर्ने फिबको अपेक्षा छ ।
राजधानीमा निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो ठूलो महिला भलिबल एकेडेमी न्यु डायमन्ड स्पोर्ट्समा आयोजित कार्यक्रममा मैत्रीपूर्ण भलिबलसहित विभिन्न स्कुललाई भलिबल प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्टदेखि खेलपत्रकार पनि मैत्रीपूर्ण खेलमा सहभागी भए ।
सो अवसरका विभिन्न स्कुलका विद्यार्थीहरूले १ सय ५० वटा बलसँग सामूहिक अभ्यास गरेका थिए ।
