भारतद्वारा शृंखला बराबर

७ हार र १ बराबरीपछि भारतलाई एजबास्टेनमा पहिलो सफलता

असार २३, २०८२

कान्तिपुर संवाददाता

Series draw by India

काठमाडौँ — आकाश दीपले टेस्टमा १० विकेट लिएपछि भारतले आइतबार एजबास्टेनमा इंग्ल्यान्डलाई दोस्रो टेस्टमा ३ सय ३६ रनले पराजित गरेको छ । योसँगै भारतले ५ टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको छ । 

 जस्प्रित बुमराहलाई आराम दिएपछि खेल्न पाएका २८ वर्षे तीव्र बलर दीपले ९९ रन खर्चेर ६ विकेट लिएपछि ६ सय ८ रनको विशाल लक्ष्य लिएर आएको इंग्ल्यान्ड पाँचौं तथा अन्तिम दिनको खेलमा २ सय ७१ रनमा अलआउट भएको थियो । दीपले कुल १ सय ४७ रन खर्चेर १० विकेट लिए । आठौं टेस्ट खेल्दै दीपले आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् । 

Series draw by Indiaजेमी स्मिथले टेस्टमा दोस्रो पटक पनि प्रभावशाली प्रदर्शन गरे । पहिलो इनिङ्समा अविजित १ सय ८४ रन बनाएका विकेटकिपर–ब्याटर उनले ९९ बल खेली ९ चौका र ४ छक्का प्रहार गरे । यो त्यही मैदान हो, जहाँ भारत ७ टेस्टमा पराजित भएको थियो भने १ बराबरीमा टुंग्याएको थियो । 

प्लेयर अफ द म्याचमा भने भारतका कप्तान शुबमन गिल चुनिए । २५ वर्षे उनले पहिलो इनिङ्समा २ सय ६९ र दोस्रो इनिङ्समा १ सय ६२ बलमा १ सय ६१ रन बनाएका थिए । उनी टेस्टको दुई इनिङ्समा क्रमशः २५० र १५० रन बनाउने पहिलो खेलाडी हुन् । 

कान्तिपुर

Link copied successfully