नेपाल स्ट्रिट प्रिमियर लिग क्रिकेट हुने

असार २३, २०८२

कान्तिपुर संवाददाता

Nepal Street Premier League Cricket

काठमाडौँ — डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग आयोजना गर्ने भएको छ ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताबारे जानकारी दिए । ‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने नाराका साथ प्रतियोगिता असोज १५ देखि २४ सम्म काठमाडौंको तल्लो मूलपानी मैदानमा हुनेछ । प्रतियोगितामा सात टिमको सहभागितता रहनेछ । प्रतियोगितामा कुल २४ खेल हुनेछ । प्रतियोगितामा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगितामा सहभागिताका लागि टिम खरिद गर्नुपर्ने र खेलाडीको अक्सन हुनेछ । प्रतियोगिता विजेताले २१ लाख र उपविजेता टोलीले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् । अध्यक्ष सिंहले यो लिगले उदीयमान प्रतिभाका लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकास गर्ने बताए ।

प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकासमा अझ टेवा पुग्ने उद्देश्य राखेको छ । एनएसपीएलले देशभरका उदीयमान क्रिकेटरलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सुरुआती मौका दिने उद्देश्य राखेको छ ।

एनएसपीएलले अभिनेता निखिल उप्रेती लाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ । नेपाली चलचित्र उद्योगमा लामो समय योगदान दिएका उप्रेतीले एनएसपीएलमा आबद्ध हुन पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको बताए । एनएसपीएलले समग्र क्रिकेट खेललाई नै प्रवर्द्धन गर्ने उनको धारणा छ । 

कान्तिपुर

Link copied successfully