जुबिमेन्डी आर्सनलमा 

असार २३, २०८२

एएफपी

Jubimendi at Arsenal

लन्डन — आर्सनलले आइतबार स्पेनिस मिडफिल्डर मार्टिन जुबिमेन्डीलाई रियल सोसिडाडबाट अनुबन्धित गरेको जनाएको छ । उनको सरुवा रकम ७ करोड ५० लाख डलर भएको बताइएको छ । स्पेनबाट युरो २०२४ को उपाधि जितेका जुबिमेन्डीलाई यसअघि लिभरपुल र रियल म्याड्रिडले पनि लिन तत्परता देखाइरहेका थिए ।

‘यो मेरो खेल जीवनका लागि निकै ठूलो क्षण हो,’ डिफेन्सिभ मिडफिल्डर जुबिमेन्डीले भने । उनले आर्सनलसँग पाँचवर्षे सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । रियल सोसिडाडले उनका लागि तोकेको रकमभन्दा बढीमा आर्सनलले जुबिमेन्डीलाई लिएको एथ्लेटिकले जनाएको छ । जसअनुसार विभिन्न किस्तामा उनको सरुवा रकम आर्सनलले बुझाउनेछ । 

‘यो यस्तो क्षण हो, जुन मैले प्रतीक्षा गरिरहेको थिएँ, जसलाई पूरा गर्न चाहन्थें । यो कति ठूलो क्लब हो भन्ने यहाँ खुट्टा टेकेपछि मात्र थाहा हुन्छ । आर्सनल नै मैले रोज्नुको कारणचाहिँ उनीहरू जसरी खेल्छन्, त्यो मेरो खेललाई सुहाउँदो छ । उनीहरूले पनि हालै आफ्नो क्षमता देखाइसकेका छन् । राम्रो नतिजा अझै आउन बाँकी छ ।’

२६ वर्षे जुबिमेन्डी सोसिडाडको एकेडेमीबाट अगाडि आएका खेलाडी हुन् र उनले यो क्लबका लागि २ सय ३६ म्याच खेलिसकेका छन् । उनले स्पेनको राष्ट्रिय टोलीबाट पनि १९ पटक खेलिसकेका छन् । थोमस पार्टेय र जोर्गिन्हो क्लब छाडेर गएकाले आर्सनलको मिडफिल्डमा जुबिमेन्डीले ठूलो प्रभाव पार्ने विश्वास व्यवस्थापक मिकेल आर्टेटाको छ । 

जुबिमेन्डीको आगमनपछि आर्सनलका कीर्तिमानी अनुबन्धित डेक्लन राइस र कप्तान मार्टिन ओडेगार्डले अझ आक्रामक भएर खेल्न पाउने छन् । आउँदो सिजनका लागि आर्सनल भित्रिने उनी दोस्रो खेलाडी हुन् । टोलीले गोलरक्षक केपा एरिजाबालागालाई चेल्सीबाट भित्र्याइसकेको छ । 

एएफपी

Link copied successfully