गुल्मी — गुल्मीबाट राष्ट्रिय भलिबल खेलाडी बनेका छवि खरेललाई सम्मान गरिएको छ। विश्व भलिबल दिवसको अवसरमा सोमबार जिल्ला भलिबल संघले पूर्व भलिबल खेलाडी खरेललाई सम्मान गरेको हो।
२०३३ देखि २०३७ सम्म राष्ट्रिय भलिबल खेलाडीकारूपमा भलिबलमार्फत् दिएको योगदानको कदर गर्दै अग्रजलाई सम्मान गरिएको संघका महासचिव नारायण आचार्यले जानकारी दिए।
राष्ट्रिय खेल भलिबललाई जिल्लामा सक्रिय रूपमा अगाडि बढाएको र लुम्बिनी प्रदेशमै अब्बल बनाउन सकिएको बताउँदै पुराना खेलाडीलाई सम्मान गरिएको महासचिव आचार्यले बताए । सम्मानित भएपछि खरेलले पुराना खेलाडीप्रति राखेको चासोले आफूलाई निकै खुसी लागेको बताए ।
‘भलिबल खेल लोकप्रिय खेल हो, यसलाई देशले पनि राष्ट्रिय खेल बनाएको छ,’ उनले भने, ‘यस्ता सम्मानले नयाँ खेलाडीलाई पनि थप प्रोत्साहन मिल्नेछ ।’ उनले सानै ठाउँमा पनि मज्जासँग खेल्न र खेलाउन सकिने भएकोले पनि लोकप्रिय बन्दै गएको बताए । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य महेश काउछाले पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकोप्रति राष्ट्रिय खेलाडी खरेलको खुलेर प्रशंसा गरे ।
‘अग्रज खेलाडीलाई सम्मान गर्न पाउँदा निकै खुसी छौँ,’ उनले भने, ‘राष्ट्रिय खेलाडी खरेल हाम्रा लागि प्रेरणाका स्रोत हुन् ।’
