काठमाडौँ — विश्व ब्याडमिन्टन दिवसलाई फरक ढंगले मनाउने क्रममा काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले शनिबार भक्तपुरमा ‘गल्ली ब्याडमिन्टन’ सुरुवात गरेको छ ।
‘सबैका लागि ब्याडमिन्टन अनि गल्लीदेखि गौरवसम्म’ सन्देशसहित भक्तपुर जिल्ला ब्याडमिन्टन संघ र भक्तपुर नगरपालिकाको सहयोगमा उक्त इभेन्ट गरिएको थियो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले यस्ता कार्यक्रमबाट खेलकुदमार्फत समुदायलाई एकताबद्ध बनाउन सकिने अपेक्षा व्यक्त गरे ।
पारासहित ५ देखि ९१ वर्ष उमेर समूहका २ सयभन्दा बढी सहभागीले उत्सवमा भाग लिएका थिए । यस कार्यक्रमले भक्तपुरका प्राचीन गल्लीहरूलाई खेलकुदमार्फत जीवन्त र सांस्कृतिक स्थलमा परिणत गरेको थियो ।
ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियनहरूसहित विभिन्न खेलका व्यक्तित्वहरू पनि यस समुदायमा आधारित खेलकुद प्रवर्द्धन गर्न र ऐक्यबद्धता जनाउन उपस्थित भएका थिए । नेपालकी नम्बर एक महिला खेलाडी रशिला महर्जनको विशेष उपस्थितिले बालबालिकामा उत्साह थपेको थियो ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले गल्ली ब्याडमिन्टनको सुरुआतलाई ग्रासरुट खेल विकासको अनुकरणीय मोडेलको रूपमा रहनसक्ने बताए ।
भलिबलका अन्तर्राष्ट्रिय रेफ्री तथा भक्तपुर नगरपालिकाका पर्यटन प्रमुख गौतम लासिवाले भक्तपुरका जीवन्त सम्पदामा पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्न र आम मानिसलाई ब्याडमिन्टनप्रति जागरुक गराउने यस कार्यक्रमले सहयोग पुग्ने बताए ।
केबीएका सचिव दीपक थापाले गल्ली ब्याडमिन्टन अभियानको लक्ष्यहरूको बारेमा प्रकाश पारेका थिए । उनले यसको उद्देश्य स्थानीय गल्ली, आँगन र छिमेक हुदै दैनिक जीवनमा ब्याडमिन्टनलाई एकीकृत गर्नु भएको बताए । सचिव थापाले पाहुना र विशिष्ट व्यक्तिहरूका लागि ब्याडमिन्टन खेल्न गल्ली पनि एक विशेष क्षेत्र बन्ने सक्ने संकेत गरे ।
काठमाडौं ब्याडमिन्टन एकेडेमीकी अध्यक्ष रीता विष्टले सबै साझेदार, सहभागी र स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै नेपाली ब्याडमिन्डनलाई ऊर्जा दिन गल्ली ब्याडमिन्टनको सुरुआत गरिएको स्पष्ट पारिन् ।
कार्यक्रममा भक्तपुरका विद्यार्थीबीच स्कुल–स्तरीय प्रतियोगिता गरिएको थियो । व्यावसायिक प्रशिक्षकहरूद्वारा युवाहरूका लागि कोचिङ क्लिनिक गर्नुका साथै कलामार्फत ब्याडमिन्टन प्रस्तुत गर्न प्रत्यक्ष चित्रकला पनि गरिएको थियो ।
कार्यक्रममा गोल्डेनगेट कलेज, जागरण डेन्टल होम., थ्राइभ ब्रोकरेज होम, अमुदी फुडलगायतको सहयोग रहेको जनाइएको छ ।
प्रेरणादायी उत्सवले खेलकुदलाई सम्पदा, समावेशीकरण र पर्यटनसँग सफलतापूर्वक संयोजन गर्नुका साथै ब्याडमिन्टनलाई ‘गल्लीबाट गौरवमा’ लैजाने अभियानलाई जीवन्त बनाएको सचिव थापाले बताए ।
