ब्याडमिन्टन कोर्ट र ट्रेनिङ सेन्टर सञ्चालनमा

असार २१, २०८२

रुपा गहतराज

Badminton court and training center in operation

नेपालगन्ज — नेपालगन्ज उप–महानगरपालिका–४ ले न्युरोड नमस्ते टोलमा ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको छ । करिब ३० लाख लागतमा ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

शनिबार ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टरको नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गरेका हुन् । नगर प्रमुख विष्टले ब्याडमिन्टन खेल प्रवर्द्धन तथा स्वस्थताका लागि वडाले सञ्चालनमा ल्याएको ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर उपयोगी र लाभदायक हुने बताए । वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुनले यो वडाकै लागि गौरवको आयोजना भएको बताए । 

यसैबीच वडा कार्यालयको आयोजनामा वडा स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीलाई नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडाध्यक्ष पुन लगायतले शिल्ड र ट्रफी प्रदान गरे ।प्रतियोगिताको व्यवस्थापनमा बाँके जिल्ला ब्याडमिन्टन संघले सहयोग गरेको थियो । 

प्रतियोगितामा लोकेश चौधरी प्रथम, आर्यन राना द्वितीय तथा अभय राजवंशी र संस्कार केसी तृतीय भएका छन् । यसैगरी उदीयमान सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिवस मल्ल र सुयोग्य श्रेष्ठलाई प्रदान गरिएको छ ।

स्थानीय सरकारले सञ्चालनमा ल्याएको यो दोस्रो ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर हो । यसअघि वडा नम्बर १ वाटरपार्कमा पनि ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर निर्माण भई सञ्चालनमा आइसकेको छ ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully